२० भदौ २०८३, शनिबार 1788666446
Banner

बाढीको असर हेर्न ट्रम्प टेक्सासमा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टेक्सास राज्यको केर काउन्टी पुगेका छन्, जहाँ गएको साता आएको भीषण बाढीले सयाैँ जनाको ज्यान लिएको थियो भने अझै १६० भन्दा बढी मानिस बेपत्ता छन्। राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प शुक्रबार स्थानीय अधिकारीहरूसँग भेटेर बाढीबाट ध्वस्त बनेका क्षेत्रमा अवलोकनमा पुगेका हुन् । बढी प्रभावित क्षेत्र पुगेका ट्रम्पले भने, “मैले यति ठूलो विनाश कहिल्यै देखेको थिइनँ।”

राष्ट्रपति दम्पतीले बाढीबाट प्रभावित परिवारहरूसँग भेटघाट गरे। मेलानिया ट्रम्पले पीडित परिवारका लागि प्रार्थना गरेको बताइन्। उनले भनिन्, “हामी तपाईँहरूको दुःखमा साथ छौँ।” उनले पुनः आउन प्रतिबद्धता जनाइन्। हालसम्म १२ हजारभन्दा बढी स्वयंसेवकले हराएका मानिसहरूको खोजीमा दिनमा १० घण्टा काम गरिरहेका छन्।

बाढी शुक्रवार बिहान सबेरै आएको थियो। ग्वाडालुप नदी ४५ मिनेटमै २६ फिट (८ मिटर) माथि उठेपछि नदी किनाराका घर, सडक र गाडीहरू बगाएको थियो। सरकारी चेतावनी ढिला पुगेको भन्दै प्रश्न उठेपछि ट्रम्पले भने, “त्यस्तो प्रश्न केवल नराम्रो मानिसले मात्र सोध्छ।” उनले आपत्कालीन अवस्थामा पछाडि बसेर आलोचना गर्नु सजिलो हुने बताए। एजेन्सी