११ श्रावण २०८३, सोमबार 1785165072
Banner

एसईई उत्तीर्ण छात्रालाई ‘मेरी जान’ भन्दै सन्देश पठाउने शिक्षक पक्राउ

जनकपुरधाम । रौतहटको गरुडा नगरपालिका–९ स्थित गम्हरिया श्रीपुर माध्यमिक विद्यालयका शिक्षक रविन्द्रप्रसाद साह एक छात्रालाई अशोभनीय सन्देश पठाएको आरोपमा पक्राउ परेका छन्।

शिक्षक साहले हालै एसईई (SEE) परीक्षा उत्तीर्ण गरेकी एक छात्रालाई ‘ह्याप्पी बर्थडे मेरी जान’ भन्ने सन्देश पठाएको आरोप लागेपछि विवाद उत्पन्न भएको हो। छात्राले उक्त सन्देशबारे आफ्ना परिवारजनलाई जानकारी गराएपछि उनका आफन्तले विद्यालयमा पुगेर आक्रोश व्यक्त गर्दै तोडफोड गरेका थिए। सो क्रममा शिक्षक साहमाथि कुटपिटसमेत भएको जनाइएको छ।

घटनापछि विद्यालयमा स्थिति तनावपूर्ण बनेको थियो। स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय, गरुडाबाट खटिएको टोलीले अश्रुग्यास प्रहार गर्नु परेको थियो। त्यसक्रममा प्रहरीले शिक्षक साहलाई पक्राउ गरेको छ।

तोडफोड र प्रदर्शनका कारण विद्यालयको शैक्षिक गतिविधि प्रभावित भएको छ। पीडित छात्राका आफन्तले शिक्षक साहमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।

इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर ओमप्रकाश यादवका अनुसार घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।