काठमाडौँ। प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहमतिमा गठन भएको सरकारको एक वर्ष पूरा भएको छ। २०८१ असार ३० मा सातबुँदे सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएको थियो।
सरकारले स्थायित्व कायम गर्दै समृद्धि र संविधान संशोधन जस्ता विषयमा काम अघि बढाउने प्रयास गरेको बताइएको छ। विश्लेषकहरूका अनुसार बारम्बार सरकार परिवर्तन हुने राजनीतिक प्रवृत्तिमा पूर्णविराम लगाउँदै एक वर्ष टिक्नुलाई नै सफलता मान्नुपर्ने अवस्था रहँदै आएको छ।

पूर्वराजदूत नीलाम्बर आचार्यले सरकारलाई अस्थिर बनाउने प्रयासबीच पनि सरकार अघि बढेको उल्लेख गर्नुभयो। उहाँले स्थायित्वका लागि यो समीकरण २०८४ सम्म कायम रहने अपेक्षा गरिएको र परिणाममुखी काम गर्नुपर्ने सुझाव दिनुभयो।
प्राध्यापक विजयकान्त कर्णले सेवा प्रवाह सुधार र जनअपेक्षा पूरा गर्न सरकार अझ सक्रिय हुनुपर्नेमा जोड दिनुभयो। उहाँले राजनीतिक समिति सक्रिय भएर नीति निर्माणमा योगदान दिनुपर्ने बताउनुभयो।
नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले सरकार गठनको एक वर्षमा आर्थिक सुधारतर्फ केही कानुनी पहल भएको बताउँदै अझ प्रभावकारी कार्य सम्पादन आवश्यक रहेको धारणा राख्नुभयो।
विश्लेषकहरूका अनुसार स्थायित्वसँगै सेवा, समृद्धि र जनविश्वास कायम गर्न ठोस परिणाम देखिनु अब सरकारको मुख्य चुनौती हो।


