काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट मैदानबारे प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोधेको प्रश्नको जवाफ दिनुभएको छ।

आफ्नो कार्यकालमा केही नगरेका पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सोमबार संसद्लाई सम्बोधन गर्दै ‘कीर्तिपुरकाे मैदानमा खोई फ्लडलाइट ? खोई प्यारापिट ?’ भनेर प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले प्रतिक्रिया जनाउँदै जवाफ फर्काउनु भएको हो ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत प्रचण्डको प्रश्नको जवाफ दिँदै भन्नुभएको छ, ‘पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ– कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्यारापिट ? मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस्। बनिरहेको छ।’
प्रधानमन्त्री ओलीले आफूले योजनाहरू टाइमलाइनसहित अघि सारेको र त्यसमा काम भइरहेको प्रष्ट पार्दै प्रचण्डमाथि व्यंग्य पनि गर्नुभएको छ। ‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि काममा टाइमलाइन तोकेर गर्छु भन्नु भएन। तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम। मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें, र काम पनि गरें,’ प्रधानमन्त्री ओलीको जवाफ छ।
प्रधानमन्त्री ओलीले प्रचण्ड नेतृत्वको सरकारले छाडेर गएको अर्थतन्त्रको बेहाल अवस्थाबारे पनि टिप्पणी गर्नुभएको छ। ‘तपाईंले जर्जर बनाएको अर्थतन्त्र अहिले कहाँ पुगेको छ ?, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।


