धादिङ- पानीको चापले सानो काठको मदानी फनफनी घुमेपछि पानीको घट्ट चल्छ । ढुङ्गाको झाँतोलाई घुमाएर पिसानीको काम गर्ने पानी घट्ट आजकाल देख्नै मुस्किल छ ।

बढ्दो आधुनिकीकरणसँगै यो पुरानो प्रविधि हराउँदै गएको हो । तर दक्षिणी धादिङको चेपाङ्ग बस्तीमा भने अझै पानी घट्ट भेटिन्छ ।
चेपाङ्ग समुदायका मानिसहरुको पिसानीको काम गर्ने मुख्य साधन नै अहिले पानी घट्ट नै हो भने पनि हुन्छ ।
आधुनिकीकरणसँगै चेपाङ्ग समुदायका मानिसहरुको चौतर्फी विकास नभएको भने होइन तर मकै र कोदो गहुँलगाएतका खाद्यान्न पिस्नका लागि भने उनीहरुले अहिले पनि पुरानै प्रविधियुक्त पानी घट्ट कै प्रयोग गर्ने गरेको बताउँछन् ।
आधुनिक मेशिनमा पिसेको पिठोको परिकार भन्दा पानी घट्टमा पिसेको पिठोबाट बनाइएका खानेकुरा स्वादिष्ट हुने भएकोले पनि खानका लागि कोदो, मकै, फापर, गहुँलगाएतका खाद्यान्न चेपाङ्ग समुदायका मानिसहरुले पानी घट्टमा नै पिस्ने गरेका हुन ।
पहिले खोला र खोल्सामा पानी भएको स्थानहरुमा जताततै भेटिने यो पुरानो प्रविधियुक्त साधन अहिले फाटफुट रुपमा मात्रै भेटिन्छ ।
दक्षिणी धादिङको बेनीघाट रोराङ्ग गाउँपालिकास्थित चोतेस झिरुवासलगायतका गाउँमा बस्ने चोपाङ्ग समुदायका मानिसहरुका लागि भने अहिले खानी खोलामा एउटा मात्रै पानी घट्ट छ । सबै गाउँलेहरु त्यही घट्टमा पिसानीको काम गर्न आउँछन् ।
घट्टमा कोदो मकै गहुँ फापरलगायतका बस्तुहरु पिस्न ल्याउँदा अहिले पनि ज्याला बापत अन्न नै लिने प्रचलन रहेको छ ।


