काठमाडौं, २ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विधि निर्माणको अन्योल अन्त्य भएको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा छोटो स्टाटस लेख्दै महासचिव पोखरेलले पार्टीको मिसन ८४ का लागि बलियो नेतृत्व सुनिश्चित भएको उल्लेख गरेका हुन् ।
‘विधि निर्माणको अन्योल अन्त्य भएको छ । मिसन ८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो । त्यो सुनिश्चित भएको छ ।’ महासचिव पोखरेलले फेसबुकमा लेखेका छन् ।
हिजो बिहीबार राति सम्पन्न एमालेको सचिवालयले बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न पार्टी सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने निर्णय गरेको हो ।
बैठकमा दोस्रो विधान महाधिवेशनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई अन्तिम रुप दिँदै पार्टी विधान (२०७८ संशोधन)को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्यकाल व्यवस्था हटाउने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उपाध्यक्ष पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई आज हुने पोलिटब्युरो बैठकमा पेस हुने र प्रस्ताव केन्द्रीय कमिटीमा लगिने उपमहासचिव ज्ञवालीले बताए । बैठकले पार्टी पदाधिकारीको संख्या १५ सहित ८४ सदस्यीय पोलिटब्युरो र केन्द्रीय कमिटीमा २५१ सदस्य रहने निर्णय गरेको छ । पोलिटब्युरो बैठक आज ११ः०० बजे बस्ने कार्यसूची छ ।
यही साउन ५ गते केन्द्रीय कमिटी बैठक पनि बस्नेछ भने आगामी भदौ २०, २१ र २२ गते हुने विधान महाधिवेशनले प्रस्ताव पारित गरेपछि उमेर हद र कार्यकालसम्बन्धी नयाँ प्रावधान लागू हुनेछ ।


