पोखरा । कास्की कारागारको ‘क’ ब्लकमा रहेका कैदीबन्दीहरू चौकीदार नियुक्तिप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका छन् । उनीहरूले कारागार व्यवस्थापन विभागद्वारा नियुक्त नयाँ चौकीदार मान्य नहुने भन्दै आइतबार कारागारभित्रै प्रदर्शन र नाराबाजी गरेका थिए । सोही सन्दर्भमा कैदीबन्दीहरूले निर्णय सच्याउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । विभागले अजय गुरुङलाई चौकीदारमा नियुक्त गरेकोमा उनीहरूको आपत्ति छ । उनीहरूले प्रकाश गुरुङलाई चौकीदार बनाउनुपर्ने माग राखेका छन् ।
विभागले कारागार कार्यालय कास्कीको सिफारिसका आधारमा नयाँ चौकीदार नियुक्त गरेको हो । कार्यालयले प्रकाश र अजयसहित तीन जनाको नाम सिफारिस गरेको थियो । सोमबार ‘क’ ब्लकका १६६ जना कैदीबन्दीले हस्ताक्षर गरी गृहमन्त्रीलाई मागपत्र पठाएका हुन् । अजय गुरुङले कारागारका बन्दीहरूको हकहित तथा सुरक्षा गर्न नसक्ने, निजको कार्यशैली निरङ्कुश तथा पक्षपातपूर्ण रहेको र बन्दीहरूको आर्थिक शोषण हुने भएकाले उनको नियुक्ति खारेज गरी प्रकाश गुरुङलाई चौकीदार पदमा नियुक्त गरियोस् भन्दै कैदीबन्दीले गृहमन्त्रीलाई मागपत्र पठाएका हुन् । कास्की कारागारभित्रै कैदीबन्दीले किन गरे नाराबाजी ?
चौकीदार नियुक्तिमा ठुलो आर्थिक चलखेल भएको आशंका गर्दै उक्त प्रक्रियाको छानबिन गरी दोषीलाई कारबाही गर्न पनि कैदीबन्दीले माग गरेका छन् । आफ्नो माग पूरा नभएसम्म अनिश्चितकालीन सिदा बहिष्कार, आमरण अनसन लगायतका आन्दोलन गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन् । मागपत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, राष्ट्रिय मानव अधिकार आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल पत्रकार महासंघ लगायतका ८ निकायलाई दिइएको छ । आइतबार कैदीबन्दीले नाराबाजीसहित कारागारभित्रै टायर बालेर प्रदर्शन गरेका थिए ।


