काठमाडौं । गत वैशाख १ देखि यही साउन ५ गतेसम्म देशभरका विभिन्न क्षेत्रमा भएका विपदजन्य दुई हजार ३२६ घटनामा एक सय दुई जनाले ज्यान गुमाएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती विपदमा परेर अझै २० जना हराइरहेका छन्। कुल पाँच सय १२ जना घाइते भएका छन् भने चार हजार ३२३ परिवार प्रभावित भएका प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारले जानकारी दिए।
उनका अनुसार मनसुनी विपद्सहितका विभिन्न प्रकारका विपद्जन्य घटनाबाट यसरी जनधनको क्षति भएको हो। बाढीका मात्रै एक सय ५१ घटनामा १३ जनाको मृत्यु र २० जना बेपत्ता भएका छन्। यो धेरैजसो रसुवा बाढीले क्षति पुर्याएको उनले बताए।
त्यसैगरी पहिरोका दुई सय सात घटनामा नौ र भारी वर्षाका एक सय तीन घटनामा दुई जनाको मृत्यु भएको छ। चट्याङका दुई सय २९ घटनामा २८, सर्पदंशका ६३ घटनामा पाँच, आगलागीका नौ सय ७६ घटनामा १४ जनाको मृत्यु भएको छ।


