७ जेष्ठ २०८३, बिहिबार 1779387986
समाचार

वीरेन्द्रनगरमा बोलेरोले ठक्कर दिँदा एकको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

सुर्खेत । सुर्खेतमा बुधबार बिहान भएको एक सडक दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् भने एक महिला घाइते भएकी छिन् ।मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–११ को धुलियाबिटका ३४ वर्षीय प्रेम बुढा रहेका छन् ।घटनामा सख्त घाइते भएका उनको पेट र टाउकोमा गहिरो चोट लागेको थियो । तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । यद्यपि, उपचारकै क्रममा बिहान ११ बजेर १० मिनेटमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वीरेन्द्रनगर नगरपालिका–११ को धुलियाबिट नजिकै मिनिट्रकबाट घाँस झारिरहेका दुई व्यक्तिलाई कर्णाली प्रदेश ०२००१ च ०९४४ नम्बरको बोलेरोले बिहान करिब १०ः४५ मिनेटको समयमा ठक्कर दिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय, सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारका अनुसार बोलेरो गुमीबाट वीरेन्द्रनगरतर्फ तीव्र गतिमा आउँदै थियो ।

सोही घटनामा सोही ठाउँकी ३२ वर्षीय तिलकुमारी बुढा पनि घाइते भएकी छिन् । उनको खुट्टामा चोट लागेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटना गराउने बोलेरो गाडीका चालक, लेकवेशी नगरपालिका–६ निवासी २१ वर्षीय यामलाल सुनारलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । प्रहरीले चालकलाई हिरासतमा राखी घटनाका सम्बन्धमा थप आवश्यक अनुसन्धान कार्य अगाडि बढाएको जानकारी दिएको छ ।