काठमाडौँ, १२ साउन । उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको छदिने औपचारिक भ्रमण सम्पन्न गरी आइतबार राति स्वदेश फर्कनुभएको छ । चीनको हेनान प्रान्समा आयोजित कार्यक्रममा सहभागी भएर उपसभामुख राना आइतबार राति ११ः३० बजे स्वदेश फर्कनुभएको हो । उपसभामुख राना यही साउन ७ देखि ११ गतेसम्म आयोजित साङ्घाई सहयोग मञ्च, मिडिया र थिङ्क ट्याङ्क शिखर सम्मेलनमा सहभागी हुनुभएको थियो ।
सो कार्यक्रममा उहाँले ‘विकासका लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण’ विषयमा सम्बोधन गर्नुभएको थियो भने हेनान प्रान्सका अधिकारीहरूसँग भेटघाट गर्नाका साथै सोही प्रान्समा अवस्थित झेडझोउ शहरलगायत विभिन्न स्थानको अवलोकन भ्रमणसमेत गर्नुभएको थियो । उपसभामुख राना नेतृत्वको प्रतिनिधिमण्डलमा सङ्घीय संसद् सचिवालयका उपसचिव जगदीश न्यौपानेसमेत सम्मिलित हुनुहुन्थ्यो । उहाँ दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउन ६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।


