तनहुँ । यहाँको व्यास नगरपालिका(१४ केशवटारस्थित रुम्सी सामुदायिक घरबास (होमस्टे) का अध्यक्ष सरस्वती थापा मगर अहिले हरेक होमस्टेमा कोदोको परिकार पाइने बताउँछिन् । मगर भन्छिन्, “कोदोको परिकारबिना होमस्टे चल्न मुस्किल हुने अवस्था छ । कोदो स्वास्थ्यबर्द्धक छ ।” खेती गर्ने किसानको अभावले उत्पादन घट्दै गएको छ भने स्वास्थ्यका दृष्टिकोणले माग बढ्दै गएको उनी बताउँछिन् । पछिल्लो समय होटल, रेष्टुरेण्ट तथा घरवास ‘होमस्टे’ मा कोदोका परिकारको माग बढ्दै गएपछि खेतीतर्फ किसानलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।
उनी भन्छिन्, “गाउँमा जमिन बाँझो बस्ने क्रम बढेको छ । स्वास्थ्यबर्द्धक कोदो उत्पादनमा कसैको चासो पुगेको पाइँदैन । त्यसमाथि बाँदरले मकैसँगै कोदो पनि खाने हुँदा किसान मर्कामा परेका छन् ।” पहिले बाँदरले खाएर बाँकी रहेका मानिसले खानुपर्ने अवस्था रहेको थापा बताउँछिन् । “हामीले यति बहु गुणी कोदोका परिकारलाई उपयोग गर्न जानेनौँ । तर, अहिले कोदोको परिकारबिना होमस्टे चलाउन सकस पर्छ”, उनी भन्छिन्, “होमस्टे सञ्चालन गरेका ठाउँमा मात्रै उत्पादन भएका कोदोले अपुग हुन्छ । कतिपय समयमा बाहिरबाट खरिद गर्नुपर्ने अवस्था आउँछ । जसले गर्दा उत्पादन भएका ठाउँबाट ल्याउन सक्छौँ । उत्पादनलाई प्रोत्साहन गरौँ ।”
बजारीकरणको अभावले विगतमा कोदो खेती घटेको हो । यसको उपयोगिताका बारेमा प्रचारप्रसार गर्दै उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । कोदोको परिकारमा प्रोटिन, आइरन र क्याल्सियम बढी मात्रामा पाइन्छन् । स्वास्थ्यका लागि कोदो उपयोगी हुने भएकाले माग बढ्दै जाँदा उत्पादन पनि बढाउनुपर्ने केन्द्रको भनाइ छ । परम्परागत तथा स्वास्थ्यबर्द्धक बालीका रूपमा रहेको कोदोको माग बढ्दै जाँदा उत्पादन घट्दै गएको यहाँका होमस्टे सञ्चालक बताउँछन् ।

व्यास नगरपालिकाद्वारा प्रथम राष्ट्रिय कोदो दिवसको अवसरमा शुक्रबार दमौलीमा आयोजित कार्यक्रममा नगरप्रमुख बैकुण्ठ न्यौपानेले कोदो दिवसमार्फत कोदो खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतिकात्मक कार्यक्रम गरिएको बताए । स्वास्थ्यबर्द्धक कोदो खेतीलाई रैथाने खेती प्रवर्द्धन कार्यक्रममार्फत विस्तारका लागि किसानलाई प्रोत्साहन गरिने उनले उल्लेख गरे ।
नगरप्रमुख न्यौपानेले भने, “कोदो खेतीको प्रवर्द्धन गर्नेछौँ । यसको उपयोग गरेमा नसर्ने रोगबाट सुरक्षित हुन सकिन्छ ।” बाझिँदै गएको जमिनलाई उपयोग गर्ने वातावरणमा नगर जुट्ने जनाउँदै उनले कोदोको ‘ब्राण्डिङ’ गरी यसबाट बनेका वस्तुको उपयोगमा जोड दिने योजनाअनुसार का भइरहेको बताए ।
उपप्रमुख इन्दिरा दरैले कोदोको उपयोगिताको प्रचार गर्दै यसको खेतीलाई विस्तार गर्दै जाने बताइन् । उनले भनिन्, “नगरपालिकाका बाझिँदै गएका जमिनलाई उपयोगमा ल्याएर कोदो खेतीको पकेट क्षेत्रमा विकास गर्नेछौँ । गर्भवती, आमा–शिशुलाई आवश्यक पर्ने प्रोटिन, आइरन र क्याल्सियमको मात्रा कोदोको परिकारमार्फत पूर्ति गर्न सकिन्छ ।”
न्यून आयस्रोत भएका गर्भवतीलाई पोषण पूर्तिका लागि नगरपालिकाले पोषण भत्ता वितरण गर्दै आएको उनले जानकारी दिइन् । “पोषणयुक्त आहारको अभावमा बालबालिका कुपोषित जन्मन सक्छन् । यसका सीमित मात्रामा खान सुझावसहित पोषण भत्ताको व्यवस्था गरिएको हो”, उपप्रमुख दरैले भनिन् ।
बजार अभावले केही वर्ष पहिलेसम्म कोदो उत्पादन गर्न छाडेका किसान अहिले पुनः कोदो खेतीतर्फ जोडिन थालेका कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले जानकारी दिए ।
“पहिले–पहिले कोदोको ढिँडो, रोटी र खोले निकै कम मात्रै पाक्थ्यो । पछिल्लो समय घरवाससँगै सहर बजारका ठुला–ठुला होटलका भान्छामा पनि ढिँडो पाक्न थालेको छ । कोदोको माग बढ्दै जान थालेका छन् भने उत्पादन घट्ने क्रममा छ । उत्पादन वृद्धिको आवश्यकता अनुरुप कोदो खेती गर्नतर्फ किसानलाई आकर्षण गर्न थालेका छौँ”, उनले भने ।
केन्द्रले परम्परागत बाली उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोदो उत्पादन गर्ने किसानलाई अनुदानको व्यवस्था गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा छ हजार ५० हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएकामा नौ हजार ३१७ मेट्रिक टन उत्पादन भएको उनले जानकारी दिए । आर्थिक वर्ष २०८०/८१ मा छ हजार सात सय ३१ हेक्टर क्षेत्रफलमा सात हजार ७८० मेट्रिक टन कोदोजन्य खाद्यान्न उत्पादन भएको थियो ।
अन्य जिल्लाको तुलनामा क्षेत्रफल घटेको भए पनि उत्पादन बढ्दै गएको सूचना अधिकारी परियारले बताए । उनले भने, “गाउँ रित्तिँदै जाँदा खेतीयोग्य जमिन बाझिँदै गएका छन् । खेती नगरी उत्पादन बढाउन सकिँदैन । तसर्थ उत्पादन बढाउन किसानलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम गर्दै आएका छौँ । गाउँमा भन्दा बढी सहरका मानिसले अहिले चामलभन्दा कोदोको परिकार खान खोज्ने प्रचलन बढेको छ ।”
आव २०७९/८० मा छ हजार एक सय पाँच हेक्टर क्षेत्रफलमा सात हजार २१ मेट्रिक टन, आव २०७८/७९ मा छ हजार सात सय २९ हेक्टरमा सात हजार ७०० सय मेट्रिक टन र आव २०७७/७८ मा छ हजार ७२९ हेक्टर क्षेत्रफलमा छ हजार ७०० मेट्रिक टन कोदो उत्पादन भएको केन्द्रले जनाएको छ ।
आव २०७६/७७ मा छ हजार ६५६ हेक्टर क्षेत्रफलमा छ हजार ५७८ मेट्रिक टन तथा आव २०७५/७६ मा छ हजार ५५८ हेक्टर क्षेत्रफलमा पाँच हजार ९०५ मेट्रिक टन कोदो उत्पादन भएको थियो । परम्परागत जातको कोदोको माग बढेपछि केही किसान व्यावसायिक उत्पादनमा लागेका छन् । जिल्लाको सबै क्षेत्रमा कोदो उत्पादनका लागि उपयुक्त हावापानी रहेको केन्द्रले जनाएको छ । तीमध्ये ऋषिङ र घिरिङ गाउँपालिकामा बढी कोदो उत्पादन तथा खेती हुने गरेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका अनुसार जिल्लामा दूधे जातको चिनो, कात्तिके, ठुलो मुड्के, डुडे, सानो मुड्के, जाँते, छत्रे जातको कोदो, कागुनो (कैनो) लगायत कोदोजन्य पौष्टिक आहारयुक्त कोदो पाइन्छ । कोदोको ढिँडोसँगै, रोटी, सेलरोटी, खोलेलगायत परिकार रुचाउनेको सङ्ख्या बढेसँगै गाउँबाट कोदोको पीठो माग बढ्दै गएको केन्द्रले जनाएको छ ।
गर्भवती, मधुमेह र ग्याष्ट्रिक रोगवाट पीडितले कोदोको परिकार बढी मात्रामा खाने गरेका छन् । गर्भवती तथा शिशुको पौष्टिक आहारमा कोदोजन्य खाद्यन्नको अधिक उपयोग हुने गरेको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीले बताए । उनले भने, “नसर्ने रोगका बिरामीले कोदोजन्य खाद्य उपयोग गरेको अवस्थामा ६० प्रतिशतले मृत्युदर घट्छ ।”
अहिले ग्रामीण क्षेत्रमा उत्पादित कोदो स्थानीयले मदिरा बनाउन प्रयोग गर्दै आएका छन् । मदिरालाई ब्राण्डिङ गरी बजारमा ल्याउने क्रममा बढ्दै गएको छ । कोदो उत्पादनका लागि प्रोत्साहनमूलक कार्यक्रम थालेसँगै जिल्लामा खेतीको क्षेत्रफल बढ्ने गएको केन्द्रले जनाएको छ । गण्डकी प्रदेशमा बाग्लुङ सबैभन्दा बढी कोदोजन्य खाद्यान्न उत्पादन हुने जिल्ला हो ।
हेपिएको बाली ‘कोदो’ –
काठमाडौं– कुनै समय कु–बालीका रूपमा बुझिने कोदो, यसको उपभोगलाई समेत हेयका दृष्टिले हेर्ने गरिन्थ्यो ।
धान खेती नहुने भीर–पाखामा लगाइने कोदो नेपालको परम्परागत बाली हो । छाक टार्नका लागि यसको उत्पादन गरिन्थ्यो ।
काठमाडौं– कुनै समय कु–बालीका रूपमा बुझिने कोदो, यसको उपभोगलाई समेत हेयका दृष्टिले हेर्ने गरिन्थ्यो ।
धान खेती नहुने भीर–पाखामा लगाइने कोदो नेपालको परम्परागत बाली हो । छाक टार्नका लागि यसको उत्पादन गरिन्थ्यो ।
मुलुकका ग्रामीण भेगमा सडक सञ्जाल जोडिएपछि यातायातका साधन चल्न थाले । दुःखको खान्कीका रूपमा परिभाषित कोदो बाली बिस्तारै लोप हुँदै गयो । किनेरै भए पनि मीठो मसिनो खानुपर्छ भन्ने मान्यता बढ्न थाल्यो । चामल किनेर भात खाने प्रचलन बढेपछि कोदोको खेती पनि घट्दै गयो ।
अहिले भने अवस्था फेरिएको छ । ठूला–ठूला तारे होटेल तथा रेष्टुराँहरूमा कोदोका ढिँडो, मःमः, रोटीलगायतका परिकार ग्राहकको रोजाइमा पर्न थालेको छ ।
स्वास्थ्य तथा पोषणका लागि लाभदायी रहेको कोदो सुगर तथा मुटुरोगीका लागि उत्तम खानाका रूपमा मानिन्छ ।
शहर बजारमा केही समय यता कोदोको माग बढ्दो क्रममा रहे पनि मागअनुसार उत्पादन भने हुन नसकेको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका कर्मचारी ९माटो विज्ञ० बलराम रिजाल बताउँछन् ।
खबरहबसँगको कुराकानीमा माटो विज्ञ रिजालले कोदोको माग बिस्तारै बढ्दो क्रममा रहेको बताए ।
नेपाल सरकारले पनि स्थानीय तहमार्फत् कोदो बालीको उपयोगिता बारे सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
शहरी क्षेत्रमा मधुमेह, मुटुरोगलगायतका समस्या बढ्दै जाँदा कोदोको उपभोग गर्न प्रोत्साहित गरिएको छ । विशेषगरी नेपालीहरूको अत्यधिक भात खाने बानीले स्वास्थ्य समस्या निम्तिएको पोषणविद् बताउँछन् ।
यस्तो अवस्थामा कोदोजन्य खाना खानु एकदमै उत्तम हुने भएकाले कोदोको माग बढिरहेको विज्ञ रिजालको बुझाइ छ ।
‘पहिले पहिले कोदो खानेलाई हेयको दृष्टिले हेरिन्थ्यो, अहिले त्यो सिनारियो बिस्तारै परिवर्तन हुँदै गएको छ ।’ रिजाल भन्छन् ।
कोदोको ढिँडो या रोटी बनाएर मात्रै खाने पुरानो प्रचलन थियो । अहिले कोदोका विभिन्न परिकार बनाएर खाने चलन बढ्दै छ ।
मैदाकै परिकारमा पनि थोरै मात्रामा कोदोको मिसावट हुँदा पनि पोषक तत्व पुग्ने पोषणविद् बताउँछन् ।
कोदोको खेती घट्दो
पहाडी पाखामा गरिने कोदो खेती कम हुँदै गएको छ । पहाडी क्षेत्रमा पहिले जसरी नै खेती हुन सकेको छैन । पहाडी बस्ती रित्तिँदै जाँदा जमिन बाँझै छन् ।
तर आयातमा भने कोदोको परिमाण बढिरहेको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका माटो विज्ञ बलराम रिजाल बताउँछन् ।
‘पहिले पहिले घरेलु मदिरा बनाउन कोदोको बिक्री हुन्छ भन्ने सुनिन्थ्यो, १०–१५ वर्ष अघि कोदोलाई अन्नकै रूपमा प्रयोग गरिन्थ्यो । तर पछिल्लो समय सडक पहुँचका कारण किनेरै भए पनि चामल खाने, कोदो नखाने प्रचलन बढेको छ,’ विज्ञ रिजाल भन्छन्, ‘परम्परागत बाली कोदोलाई चामललगायतका अन्नले प्रतिस्थापन गरेकाले उत्पादनमै कमी आएको हो ।’
विज्ञ रिजालका अनुसार विगत ४–५ वर्षदेखि भने पुनः कोदोको खेतीतर्फ आकर्षण भएको देखिन्छ । तर बसाइसराइका कारण मागअनुसारको उत्पादन हुन सकेको छैन ।
स्वास्थ्यका दृष्टिले उपयोगी
हाम्रो शरीरलाई चाहिने सुक्ष्म पोषकतत्वहरू कोदोमा धेरै पाइने भएकाले स्वास्थ्यका दृष्टिले कोदो उत्कृष्ट खाना मानिन्छ ।
कोदोमा आइरन धेरै पाइने हुनाले रगतको कमी भएका व्यक्तिलाई पनि फाइदा गर्छ । रेशायुक्त अन्न भएकाले कोदोको अन्न खाँदा कब्जियतको समस्या हुँदैन ।
विशेष गरी मधुमेह, मोटोपनलगायतका समस्या भएका व्यक्तिलाई कोदोका परिकारले फाइदा गर्छ । थोरै खाँदा पनि धेरैबेरसम्म भोक लागेको अनुभव हुँदैन । चिकित्सकहरूले पनि मधुमेहका बिरामीलाई कोदो, फापर खान सल्लाह दिने गर्दछन् ।
पछिल्लो समय कोदोबाट उत्पादित बिस्कुट, मःमः लगायतका परिकार खाने चलन बढ्दो छ । कोदोलाई जस्तै परिकार बनाएर खाँदा पनि फाइदाजनक नै हुने जनस्वास्थ्यविद् तथा पोषणविद् अरुणा उप्रेती बताउँछिन् ।
पोषणविद् उप्रेतीका अनुसार कोदोका परिकार कहिल्यै नखाएका मान्छेले भने एकैपटक धेरै खानुहुँदैन । कोदोमा धेरै पौष्टिक तत्व हुने भएकाले पचाउन गाह्रो हुन्छ । अन्य अन्नसँग मिलाएर थोरै मात्रामा खान सकिन्छ ।
कोदोमा पाइने पौष्टिक तत्वहरू
कोदोमा हाम्रो शरीरलाई आवश्यक पर्ने विभिन्न पोषक तत्वहरू पाइन्छन् । कोदोमा प्रोटिन फ्याट, भिटामिन, राइबोफ्लयाबिन, कार्बोहाइड्रेड, क्याल्सियम, फाइबर, नाइसिन लगायतका पौष्टिक तत्व पाइने भएकाले शरीरमा रगतको मात्रा बढाउनेदेखि पाचन प्रणालीलाई सघाउ पुर्याउने समेतका फाइदा हुने पोषणविद् उप्रेतीको भनाइ छ ।
जलवायु परिवर्तनको असर थेगिरहेको कोदो बाली
विज्ञका अनुसार धान, मकै, गहुँ बाली जस्तो कोदोजन्य बालीमा जलवायु परिवर्तनको असर कम परिहरेको छ ।
कोदो कम पानी भएको, भिरालो र पाखो जग्गामा पनि फल्ने अन्न हो । जलवायु परिवर्तनको मारमा अन्य बाली परिरहेको अवस्थामा समेत कोदोजन्य बालीको खेती सजिलै गर्न सकिने माटोविज्ञ बलराम रिजाल बताउँछन् ।
विश्व्यापी रुपमै बढ्दै गइरहेको जलवायु परिवर्तन र पानीको सङ्कुचनसँग जुध्न सक्ने बालीका रूपमा कोदोलाई लिइन्छ । कोदोसँगै १२–१३ जातिका खाद्यान्नलाई विकल्पका रूपमा राखिएको विज्ञ रिजालको भनाइ छ ।
राष्ट्रिय कोदो दिवस
नेपालको परम्परागत खेती कोदो स्वास्थ्यवद्र्धक र पोषणयुक्त अन्नमध्ये एक हो । जसको उत्पादन पछिल्लो समय क्रमशः घट्दै गएको देखिन्छ । यही तथ्यलाई ध्यानमा राख्दै सरकारले कोदोको संरक्षण, प्रवद्र्धन तथा मूल्यवद्र्धन गर्नका लागि ‘राष्ट्रिय कोदो दिवस’ को औपचारिक मान्यता दिने निर्णय गरेको हो ।
हरेक वर्ष साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’ औपचारिक रूपमा मनाइने भएको छ । यो निर्णय हालै सम्पन्न मन्त्रिपरिषद् बैठकले गरेको हो ।
नेपाल र भारतका पहाडी भेगमा उत्पादन हुने यो अन्न मुख्य खाद्य बालीका रूपमा उब्जाइन्छ । समुद्र सतहदेखि १८०० मिटर उचाईसम्म सजिलै खेती गर्न सकिने भएकाले यो अन्न पहाडी भेगमा निकै लोकप्रिय छ ।
कोदोमा क्याल्सियम, फलाम र फस्फोरसजस्ता शरीरका लागि आवश्यक पोषक तत्व प्रशस्त मात्रामा पाइन्छन् । यसले पाचन प्रणालीलाई सुधार गर्छ र मधुमेह नियन्त्रणमा सहयोग पुर्याउँछ । कोदो पशुको दाना बनाउन पनि उपयोगी छ । उमारिएको कोदोबाट पौष्टिक पेय तयार पारिन्छ । बच्चादेखि लिएर गर्भवती र वयस्कसम्म सबैका लागि लाभदायक हुन्छ ।
साउन १६ लाई ‘राष्ट्रिय कोदो दिवस’ घोषणा गर्नु केवल एक निर्णय होइन, यो हाम्रो परम्परागत कृषि प्रणाली, स्वास्थ्यप्रद जीवनशैली र स्वदेशी उत्पादनप्रतिको सम्मान पनि हो । यस्तो दिवसले कोदो खेतीप्रति जनचासो बढाउने, किसानलाई प्रेरित गर्ने र नेपालको मौलिकता झल्काउने महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गर्न सकिन्छ ।


