काठमाडौँ । न्यु इनर्जी भेइकल (एनईभी) निर्माता कम्पनी बीवाईडीले १ करोड ३० लाख युनिट सवारी साधन उत्पादन गरेर ऐतिहासिक उपलब्धि हासिल गरेको छ । कम्पनीले यो माइलस्टोन सवारीका रूपमा चीनको सेन्झेन–शानवेई स्पेसल कोअपरेसन जोनमा अवस्थित जियाओमो प्रोडक्सन बेसबाट ‘याङवाङ यु७’ सार्वजनिक गर्दै उत्सव मनाएको हो ।

सन् २०२५ को पहिलो छ महिनामा कम्पनीको बिक्रीमा उल्लेखनीय वृद्धि देखिएको छ। जनवरीदेखि जुनसम्मको अवधिमा घरेलु बजारमा बीवाईडीको बिक्री ३१.५ प्रतिशतले वृद्धि भई २१ लाख १३ हजार युनिट पुगेको छ भने अन्तर्राष्ट्रिय बिक्री १२८.५ प्रतिशतले बढ्दै ४ लाख ७२ हजार युनिट पुगेको छ।यी आँकडाले बीवाईडीलाई ग्लोबल न्यु इनर्जी भेइकल बजारमा शीर्ष स्थानमा पुर्याएको छ । साथसाथै, १ करोड ३० लाख युनिट उत्पादन गर्ने पहिलो कम्पनीका रूपमा यसले सवारी उद्योगमै ऐतिहासिक माइलस्टोन स्थापना गरेको छ ।
बीवाईडीले सार्वजनिक गरेको १ करोड ३० लाखौं सवारी युनिट ‘याङवाङ यु७’ कम्पनीको प्रिमियम ब्रान्ड अन्तर्गतको मोडल हो, जसले १० हजार युनिट बिक्री पार गर्ने चीनको पहिलो अल्ट्रा–लक्जरी अटो ब्रान्डको कीर्तिमान बनाइसकेको छ ।


