दमौली । तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत मुख्य बाँधका लागि ७३ हजार घनमिटर कङ्क्रिट निर्माण गरिएको छ । एक सय ४० मिटर अग्लो मुख्य बाँध बनाउनका लागि करिब नौ लाख घनमिटर कङ्क्रिट निर्माण गर्नुपर्नेमा हालसम्म ७३ हजार घनमिटरको काम सकिएको हो ।

मुख्य बाँधको कङ्क्रिटका लागि विसं २०८१ चैत ७ गतेदेखि काम सुरु भएको जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । आयोजनाको ‘प्याकेज-१’ अन्तर्गत व्यास नगरपालिका-५ र ऋषिङ गाउँपालिका-१ स्थित सेती नदी फर्काएर बाँध निर्माणलाई अघि बढाइएको उनले बताए ।
एक सय ४० मिटर अग्लो बाँध निर्माणअन्तर्गत अहिले बाँधको फाउण्डेसनमाथि औसत १० मिटर उचाइसम्म कङ्क्रिटका ब्लकहरू उठाइसकिएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए । उच्च बाँधको ठूलो कङ्क्रिटको तापमान नियन्त्रण अत्यन्त संवेदनशील मानिने भएकाले त्यसलाई ख्यालमा राखेर काम भइरहेको उनको भनाइ छ ।

विसं २०८० कात्तिक २० गतेदेखि जग खन्ने काम सुरु भएकामा विसं २०८१ असारमा सकिएको थियो । ऋषिङ गाउँपालिका १ र व्यास नगरपालिका-५ सीमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६ दशमलव ९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काएर काम थालिएको भण्डारीले जानकारी दिए ।
“डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्र हुँदै पुनः सेती नदीमा खसालिएको थियो । बाँध निर्माणका लागि नदी फर्काउने कामलाई महत्त्वपूर्ण मानिएको छ”, उनले भने ।
प्रवन्ध निर्देशक छविलाल गैरेका अनुसार नेविप्राको सहायक कम्पनी रहेको सो आयोजनाको निर्माण विभिन्न प्याकेजहरु मार्फत भरहेको जानकारी दिए । सोअन्तर्गत प्याकेज १ तर्फ सोङ्दा–कालिका जे.भी.ले १४० मिटर अग्लो बाँध निर्माण गरिरहेको निर्देशक गैरेले जानकारी दिए ।

उनका अनुसार २२ मार्च २०२१ मा खरिद सम्झौता भई निर्माण कार्य सुरु गरिएकोमा २० मार्च २०२५ देखिमात्र सोको कंक्रिटिङ कार्य सुरु गरिएको हो । बाँध निर्माणको लागि करिव ९ लाख घनमिटर कंक्रिट लाग्नेमा हालसम्म करिव ६० हजार घनमिटर मात्र कंक्रिटिङ गर्ने कार्य सम्पन्न भएको छ । आयोजनाको ‘प्याकेज–१’ अन्तर्गत व्यास नगरपालिका–५ र ऋषिङ गाउँपालिका–१ स्थित सेती नदी फर्काएर बाँध निर्माणलाई अघि बढाइएको प्रवन्ध निर्देशक गैरेले जानकारी दिए । २०७८ भदौ १४ गतेदेखि प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण सुरु भएकोमा हालसम्मको प्रगति ४३ दशमलव ५ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ । एडीबीले १५ करोड, जाइकाले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकारअन्तर्गत नेपाल विद्युत् प्राधिकरणले ९ करोड ६० लाख डलर व्यहोर्ने सो आयोजनाको काम २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

एसियाली विकास बैंक (एडीबी) ले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकारअन्तर्गत नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजना कार्यालयले जनाएको छ ।


