२० बैशाख २०८३, आइतबार 1777791088
जलविधुत

विद्युत् निर्यातमा ऐतिहासिक सफलता: मन्त्री खड्काको नेतृत्वमा १७ अर्बभन्दा बढी आम्दानी

काठमाडौं, साउन २२ – उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काको नेतृत्वमा नेपालले वैदेशिक बजारमा विद्युत् निर्यातमा उल्लेखनीय फड्को मारेको छ।

आर्थिक वर्ष २०८१/८२ मा नेपालले भारत र बंगलादेशमा कुल १७ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सफल भएको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो।

नेपाल विद्युत् प्राधिकरणका अनुसार, भारतमा १७ अर्ब १९ करोड र बंगलादेशमा २६ करोड ६७ लाख रुपैयाँ बराबरको बिजुली बिक्री गरिएको हो।

मन्त्री खड्काका अनुसार यो सफलता जलविद्युत् उत्पादन क्षमताको सदुपयोग, छिमेकी मुलुकहरूसँगको सहकार्य, र ऊर्जा कूटनीतिमा नेपालले हासिल गरेको विश्वासको परिणाम हो।

“विद्युत् निर्यातमा यो फड्कोले नेपाललाई खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनाउने दिशामा ठूलो टेवा पुगेको छ,” मन्त्री खड्काले बताए।

त्रिपक्षीय सम्झौताअनुसार नेपालले बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ। प्रतियुनिट ६.४० अमेरिकी सेन्ट दरमा बंगलादेशलाई विद्युत् बेचिँदै आएको छ।

बंगलादेशमा व्यवसायिक रूपमा डलरमा पहिलोपटक विद्युत् निर्यात मन्त्री खड्काकै पहलमा सम्भव भएको हो। भारतको एनटीपीसी विद्युत् व्यापार निगम (NVVN) को माध्यमबाट बंगलादेशसम्म आपूर्ति भइरहेको छ।
वर्षायाममा उत्पादन वृद्धि हुने भएकाले नेपालले प्रतिस्पर्धी मूल्यमा भारतीय बजारको डे-अहेड र रियल-टाइम मार्केट मा विद्युत् बेच्दै आएको छ।

ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन तथा बेहरामपुर–भेडामारा लाइनमार्फत नेपालले हाल भारतका विभिन्न राज्यहरूमा दैनिक ७ सय मेगावाटभन्दा बढी बिजुली निर्यात गरिरहेको छ।

ऊर्जा कूटनीतिमा अग्रगामी पाइला
ऊर्जा निर्यातमा देखिएको यो प्रगति तथ्याङ्क मात्र होइन, नेपालको अन्तर्राष्ट्रिय छवि र आर्थिक सशक्तिकरणको जीवित प्रमाण हो। मन्त्री खड्काको सक्रिय नेतृत्वले नेपाललाई ऊर्जा कूटनीतिमा पनि नयाँ उचाइमा पुर्‍याएको छ।

मन्त्री खड्काले समग्र टीम, प्राविधिक समूह र राजनीतिक नेतृत्वलाई धन्यवाद दिँदै नेपाललाई ऊर्जाको माध्यमबाट समृद्ध राष्ट्र बनाउने यात्रामा एकजुट हुन आह्वान गरेका छन्।