काठमाडौं । ३४१ मेगावाटको बुढीगण्डकी अर्ध जलाशययुक्त जलविद्युत् (पीआरओआर) परियोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) भएको छ । ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नेतृत्वमा १० बैंक तथा वित्तीय संस्थाले कन्सोर्टियम (संयुक्त) मोडलमा ५२ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी जुटेको हो ।

जसमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १० अर्ब, नबिल बैंक ८ अर्ब, लक्ष्मी सन्राइज बैंक ८ अर्ब, ग्लोबल आईएमई बैंक ७ अर्ब, हाइड्रो इलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनी ४ अर्ब, माछापुच्छ्रे बैंक ४ अर्ब, सिटीजन बैंक ३ अर्ब, नेपाल इन्फ्रास्ट्रक्चर बैंक ३ अर्ब, प्रभु बैंक ३ अर्ब र कृषि विकास बैंकले २ अर्ब ५० करोड लगानी गरेका छन् ।
काठमाडौंमा बिहीबार एक कार्यक्रमबीच प्रवर्द्धक कम्पनी टाइम्स इनर्जी र बैंक तथा वित्तीय संस्थाबीच ऋण लगानी सम्झौता भएको हो ।सम्झौतापत्रमा टाइम्स इनर्जीका सञ्चालक सुशील थापा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका तर्फबाट सीईओ ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।
यस परियोजनामा ऋण लगानीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नेतृत्वमा नबिल, लक्ष्मी सन्राइज र ग्लोबल आईएमई बैंकले सहनेतृत्व गर्नेछन् ।यस्तै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल), माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल इन्फ्रास्टक्चर बैंक, प्रभु बैंक र कृषि विकास बैंकले सदस्यको रूपमा ऋण लगानी गर्नेछन् ।
परियोजनामा ७५ प्रतिशत लगानी ऋणमार्फत जुटाउन लागिएको हो । यसमा बैंकहरूले संयुक्त रूपमा साढे ५२ अर्ब रुपैयाँ ऋण लगानी गर्नेछन् । बाँकी २५ प्रतिशत लगानी अर्थात् १७ अर्ब ५० करोड रुपैयाँ भने प्रवर्द्धक कम्पनी स्वपुँजीको रूपमा लगानी गर्नेछन् ।
टाइम्स इनर्जीमा साहस ऊर्जाको ५१ प्रतिशत सेयर स्वामित्व छ । सोहीअनुसार साहस ऊर्जाले ५१ प्रतिशत स्वपुँजी लगानी गर्नेछ । निजी क्षेत्रले बनाउन लागेको र वित्तीय व्यवस्थापन गरेको हालसम्मकै ठूलो आयोजना हो । यसअघि २८५ मेगावाटको माथिल्लो तमोर आयोजना र २१६ मेगावाटको माथिल्लो सेती आयोजनाको वित्तीय व्यवस्थापन भइसकेको छ ।
सञ्चालनतर्फ भने निजी क्षेत्रको ठूलो परियोजना ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् परियोजना हो ।


