१ जेष्ठ २०८३, शुक्रबार 1778909264
Banner

सम्पत्तिको अधिकार रक्षा गर्न हुलाक टिकट महत्त्वपूर्ण : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सम्पत्ति अधिकार रक्षा गर्न हुलाक टिकटको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।  मंगलबार सरदार भीमबहादुर पाँडेको तस्बिर अङ्कित हुलाक टिकटमा टाँचा प्रदान गर्ने कार्यक्रममा गुरुङ देशमा लोप हुन लागेका रैथाने बालीनाली, वनस्पति, जनावर, पशुपंक्षीहरुको संरक्षणका लागि हुलाक टिकट प्रकाशन गर्ने बताएका हुन् । बासमती धान नेपालको रैथानी बाली भए पनि हाल यसको प्याटेन्ट राइट्स भने भारतले लिएको उनले बताए । बासमती धानको प्याटेन्ट राईट्सबाट आउने रकम सबै भारतले पाउने तर नेपालले नपाउने उनको भनाई छ ।

उनले भने, ‘हाम्रो देशमा एकदमै लोप हुन लागेको चिजहरू हुन्छ नि । वनस्पति होला, जनावरहरू होला, पशुपंक्षीहरु होला । हाम्रो रैथाने बालीनालीका कुराहरू त्यो पनि अहिलेको जरुरी छ के, हाम्रो सम्पत्ति अधिकार रक्षा गर्ने काममा हुलाक टिकटको एकदमै महत्त्वपूर्ण भूमिका हुन्छ । हाम्रो बेसारको कुरा होला बेसारको प्याटेन्ट राइट्स । धानमा पनि झिनुवा धान भन्ने हुन्छ, विभिन्न प्रकारका एक्ले धान छ होला । हाम्रो एक्ले फाँट भन्ने कति छ, कति । त्यस्तो चिजहरू चाहिँ संरक्षण गर्ने महत्त्वपूर्ण ठाउँ यो हुलाक टिकट पनि हो ।

लोप हुन बाट जोगाउने या आफ्नो अधिकार अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत गर्नको लागि पनि यस्तो टिकटहरूको महत्त्वपूर्ण भूमिका हुन्छ ।’ सञ्चारमन्त्री गुरुङले देशमा योगदान दिने व्यक्तिहरूको नाममा पनि खोजी खोजी हुलाक टिकट छाप्ने बताए । विभिन्न मोर्चाहरू कूटनीतिक, लडाइँ र प्रशासनिक मोर्चाहरूमा सहभागी भएर देश र जनताको पक्षमा लाग्ने व्यक्तिहरूको हुलाक टिकट प्रकाशन गर्ने उनको भनाई छ । उनले भने, ‘अहिलेसम्म हामीले हाम्रो भूगोल पुरा गर्न पाएका छैनौँ ।

अहिलेसम्म हाम्रो भूगोल मिचिएको भनेकै छौँ, हामीले । हाम्रा पूर्वजहरूले जोगाएको भूमि पनि अहिले हामीले पूर्ण रूपमा पाउन सकेका छैनौँ । हामी त्यही अभियानमा छौँ, त्यो कति ठुलो महत्त्वपूर्ण योगदान रहेछ उहाँहरूको । विभिन्न मोर्चाहरूमा, कूटनीतिक मोर्चा होस्, या लडाइँको मोर्चा या प्रशासनिक मोर्चाहरूमा त्यो बेलाको राजा महाराजा जो शासक प्रणाली थियो, त्यसमा रहेर देश र जनताको पक्षमा लाग्ने सपुतहरूको के उहाँहरू भनेको । त्यस्तो व्यक्तिहरूको त म खोजी खोजी हुलाक टिकट प्रकाशन गर्छु ।’

कालु पाँडेका छैटौँ पुस्ताका वंशज सरदार भीमबहादुर पाँडेको देशभक्ति र देश विकासमा रहेको योगदानको कदर गर्दै सरकारले उनको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०८१ चैत्र १७ गते भीमबहादुर पाँडेको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार हुलाक सेवा विभागले १० रुपैयाँ दरको हुलाक टिकट प्रकाशनमा ल्याएको छ । सरदार भीमबहादुर पाँडे कुशल प्रशासक, अर्थशास्त्री तथा लेखक समेत थिए ।