२६ जेष्ठ २०८३, मंगलबार 1781069325
Banner

वीरगञ्जमा हैजाको संक्रमण पुष्टि, दुई दिन विद्यालय बन्द

रौतहट । पर्साको वीरगञ्जमा झाडापखालाका बिरामीहरूमा हैजाको संक्रमण पुष्टि भएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, १२, १३ र १६ का विभिन्न टोलमा झाडापखालाका बिरामी फेला परेका छन्। नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार, शनिबार झाडापखालाका ८ जनाको नमुना परीक्षण गर्दा ५ जनामा हैजा (भिब्रियो कोलरी) को जीवाणु पुष्टि भएको हो। ती सबै बिरामी वडा नम्बर १२, मुर्ली क्षेत्रका हुन्। यसअघि शुक्रबार ३ जनामा हैजा देखिएको थियो।

हालसम्म वीरगञ्जका विभिन्न स्थानमा १० जनामा हैजाको संक्रमण पुष्टि भएको वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाले जनाएको छ। शाखाका प्रमुख राजु साहले झाडापखालाका बिरामीको संख्या बढिरहेको जानकारी दिँदै दुई जनाको मृत्यु पनि हैजाका कारण हुनसक्ने आशंका व्यक्त गरे। यद्यपि मृत्युको यकिन कारण पुष्टि हुन बाँकी रहेको उनले बताए।

झाडापखालाका बिरामीहरू अहिले वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत छन्।

बढ्दो हैजाको जोखिमलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले भदौ ८ र ९ गते (आइतबार र सोमबार) दुई दिनका लागि महानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको छ। शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै नागरिकलाई आवश्यक स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ।

महानगर प्रमुख राजेशमान सिंहले विभिन्न अस्पताल पुगेर बिरामीहरूको अवस्था र उपचारबारे जानकारी लिएका छन्।