१५ बैशाख २०८३, मंगलबार 1777437068
Banner

विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव

काठमाडौँ, १७ भदौ । राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेलाई बधाई तथा शुभकामना दिँदै समितिमा विचाराधीन विधेयकलाई अघि बढाउन सुझाव दिनुभएको छ । समितिको आजको बैठकमा सदस्यहरूले विधेयक निर्माणमा विगतमा भएका गल्तीबाट पाठ सिकेर अघि बढ्न सुझाव दिनुभयो । उहाँहरूले समितिमा विचाराधीन रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्माणमुखी सामग्री व्यवस्थापन तथा प्रहरी विधेयक तत्काल अघि बढाउन आग्रह गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले विधेयक निर्माणमा गम्भीर बन्न आग्रह गर्दै जनप्रतिनिधिमुलक थलोबाट निर्माण भएको विधेयक प्रमाणीकरण नभई फर्कने अवस्था नआउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद दुर्गा राईले विधेयक निर्माणमा विगतको जस्तो त्रुटि नहुने गरी ध्यान दिन आग्रह गर्नुभयो । “विधेयकको दफा÷दफा स्पष्ट पारेर मात्र समितिबाट प्रतिवेदन पास गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सदन नचलेको बेला समितिको बैठक राखेर विचाराधीन अख्तियार, निर्माणमुखी, प्रहरीलगायत विधेयक तत्काल अघि बढाऔँ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद पदम गिरीले समितिले निश्चित समयसीमा किटान गरेर विधेयक अघि बढाउनुपर्नेमा जोड दिनुभयो । “निश्चित समय तोकेर विधेयक अघि बढाउनुपर्छ, त्यो नभएसम्म नागरिकको गुनासो आइरहन्छ । अरुलाई सुशासनको पाठ पढाउने तर हामीले पालना नगर्ने भन्ने हुनुहुँदैन”, उहाँले भन्नुभयो । जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले सुशासनको पालना समितिबाटै सुरु हुनुपर्ने बताउनुभयो । “समितिमा आएको विधेयक अड्काउने काम हुनुहुँदैन । कि त ती विधेयक सरकारले फिर्ता लगोस्, होइन भने समितिले प्रक्रिया अघि बढाओस्”, उहाँले भन्नुभयो ।