४ आश्विन २०८१, शुक्रबार 1726889564
Banner

नवनिर्वाचित जनप्रतिनिधिको कार्यकाल आजबाट सुरु

काठमाडौं । २०७४ सालको स्थानीय तह निर्वाचनमा देशभर निर्वाचित भएका ३५ हजार २ सय २१ जनप्रतिनिधिको पदावधि सकिएको छ ।

२०७४ मा तीन चरणमा ३१ वैशाख, १४ असार र २ असोज गरी स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । संंवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधिको कार्यकाल एकैपटक सकिन्छ ।

संविधानको धारा २१५ को उपधारा ६ मा गाउँपालिकाको ‘अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने’ उल्लेख छ ।

यसैगरी, धारा २१६ को उपधारा ६ मा नगरपालिकाको ‘प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुनेछ’ भन्ने उल्लेख छ ।

२०७४ मा निर्वाचित जनप्रतिनिधि पदबाट बिदा

संविधानका यी दुवै धारामा भएका व्यवस्थाअनुसार २०७४ मा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि पदबाट बिदा भएका हुन् ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बिहीबार रातिसम्म ६ सय बढी स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भइसकेको र आजबाट नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु हुने जानकारी दिए ।

संवैधानिक व्यवस्थाअनुसार बिहीबार रातिबाटै २०७४ को स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकियो, यससँगै नवनिर्वाचित जनप्रतिनिधिको कार्यकाल शुक्रबारबाटै सुरु हुन्छ । रिजल्ट आएका ठाउँमा शपथ गराउनू भनेर आयोगले भनिसकेको छ, केही स्थानमा शपथ भइसकेको छ, सोमबारसम्म सबै स्थानमा हुन्छ

प्रमुख आयुक्त थपलियाले निर्वाचनको परिणाम सार्वजनिक भइसकेका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिको शपथ गराउन आयोगले निर्देशन दिइसकेको र केही जिल्लामा धमाधम शपथ भइरहेको पनि बताए ।

‘रिजल्ट आएका ठाउँमा शपथ गराउनु भनेर आयोगले भनिसकेको छ, केही स्थानमा शपथ भइसकेको छ, सोमबारसम्म सबै स्थानमा शपथ हुन्छ,’ प्रमुख आयुक्त थपलियाले अघि थपे ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको देशका ६ महानगर, ११ उपमहानगरसहित केही नगरपालिका र केही गाउँपालिकाको अन्तिम परिणाम आउन बाँकी छ ।