२६ जेष्ठ २०८३, मंगलबार 1781069136
Banner

पदबहाली गरेलगत्तै कार्यकक्षमै पुगेर अर्थमन्त्री खनाललाई वृद्धले र्‍याख्र्‍याख्ती पारेपछि…

काठमाडौं, ३० भदौ । नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले पदबहाली गरेलगत्तै सचिव र पत्रकारहरूसँग अन्तरक्रिया गरिरहेका बेला एक वृद्ध आकस्मिक रूपमा कार्यकक्षमै प्रवेश गरी हंगामा गरेका छन्।

स्टकोट र ढाका टोपी लगाएका ती पुरुष कहाँबाट प्रवेश गरे भन्ने स्पष्ट नभए पनि उनले अचानक ठूलो स्वरमा अर्थमन्त्रीलाई आलोचना गर्न थाले। “७७ वटा जिल्ला छन्, तर बजेट केही जिल्लामै सीमित हुन्छ ? यसरी देश कसरी चल्छ ?” भन्दै उनले चर्का कुरा गरे।

कर्मचारीहरूले ‘पछि छुट्टै सुन्ने’ भन्दै सम्झाउने प्रयास गरे पनि उनी रोकिएनन्। मन्त्री खनालले तत्कालै जवाफ दिँदै भने, “भर्खरै निर्णय भएको छ, अनावश्यक बजेट कटौती गर्ने भन्ने।” तर पनि वृद्धको आक्रोश कम भएन।

आफू आन्दोलनमा पनि संलग्न भएको दाबी गरेका ती पुरुषलाई सुरक्षाकर्मीले अन्ततः बाहिर निकाले। बाहिर आएपछि पत्रकारहरूसँग छोटकरीमा कुरा गर्दै उनले आफू पर्वतका शालिकराम पौडेल भएको बताए।

उनले भने, “मन्त्री को भए भन्ने ठूलो कुरा होइन, जनतालाई के दिन सकिन्छ भन्ने ठूलो कुरा हो। अहिलेको बजेटमा जनताको योजना छैन, सबै कर्मचारीका खल्तीमा गयो। स्वागत त गधालाई मन्त्री बनाए पनि हुन्छ।”

उनी नरोकिएपछि सुरक्षाकर्मीले जबरजस्ती कक्षबाट निकालेका थिए ।