काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले निजी क्षेत्रका प्रतिनिधिहरूसँग उद्योग तथा व्यवसायमा आएको क्षति र समाधानका उपायबारे छलफल गरेकी छन्। आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित छलफलमा उद्योग वाणिज्य प्रवर्द्धन परिषद् सदस्यहरू र जेनजी आन्दोलनका क्रममा प्रभावित उद्योग व्यवसायीहरूको सहभागिता रहेको थियो। छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृह तथा कानून, न्याय र संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याल, नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतको उपस्थिति थियो।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासंघका अध्यक्ष ढकालले सरकारसँग भएको संवादले निजी क्षेत्रको मनोबल बढाएको बताए।
“आन्दोलनको क्रममा उद्योग तथा व्यवसायमा भएको तोडफोड र आगजनीबाट भएको क्षतिमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यसले निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको छ,” उनले भने।
उनका अनुसार, आन्दोलनको मौका छोपेर निजी क्षेत्रलाई निशाना बनाइएको थियो, जसले समग्र आर्थिक गतिविधिमा असर परेको थियो। छलफलमार्फत समस्याको समाधानका लागि सरकार गम्भीर भएको देखिएको उनले बताए।


