मूलत: दशैँ शक्ति उपासनाको पर्व हो, जहाँ नवदुर्गाको पूजा गरी प्रसादको रूपमा टीका र जमरा लगाएर आशीर्वाद लिने गरिन्छ । यद्यपि, दशैँ पर्वका आर्थिक, सामाजिक, सांस्कृतिक आदि पक्ष पनि उत्तिकै महत्त्वका छन् । तथापि सबै शक्ति उपसनामै अन्तरहित देखिन्छन् । त्यसैले यस आलेखमा यसको शुरूआत कहाँबाट कहिले र कसरी भएको थियो भन्नेबारे केलाउने प्रयास गरिएको छ । करिब ईपू.२२०० वर्षतिर काश्यपसागरको तटीयभूमिबाट पामिरघाँटी छिचोली ईलावर्त आएपछि मनुपुत्री ईलाका सन्तान ऐलहरू र सूर्यपुत्र मनुका वंशज आदित्यहरू मिलेर आर्यसमूह गठन गरेका थिए, जो त्यसअघि ऐल र आदित्यका नामले चिनिन्थे । उनीहरू आर्यसमूहमा आबद्ध भएपछि लामो समयसम्म त्यतैतिर रहे । रहँदाबस्दा शायद बासस्थान साँघुरिँदै गएकाले होला उपयुक्त स्थानको खोजमा भीरपाखा, पहरा, गुफा, ओडार, नदीनाला तथा मरुभूमि पारगरी करिब ईपू १८०० वर्षतिर सप्तसिन्धु क्षेत्रमा आइपुगेका थिए ।

उनीहरूले यता आउनेक्रममा पहिलो बसाइँ काबूल (अफगानिस्तान) तथा स्वातउपत्यका (अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तरपश्चिममा अवस्थित खैबरपख्तुन प्रान्त)लाई बनाएका थिए, जसको नाम महाभारतकालमा गान्धार थियो । ऋग्वेदमा सुवास्तु तथा युनानीहरूमाझ सोआष्टस् नामले चिनिने स्वातनदीले सिञ्चित सो क्षेत्र निकै उर्बर मानिन्थ्यो । त्यसपछि उनीहरूले दोस्रो बसाइँ सप्तसिन्धु (हाल भारत र पाकिस्तानमा विभाजित पञ्जाब) क्षेत्रलाई बनाएको देखिन्छ भने तेस्रो बसाइँमा गङ्गायमुनाको सङ्गम प्रयागराजसम्म आइपुगेका थिए । उनीहरूलाई यहाँसम्म आइपुग्न करिब ८०० वर्ष लागेको बुझिन्छ । किनभने उनीहरू करिब ईपू. १००० वर्षतिरमात्र यसक्षेत्रमा आइपुगेको देखिन्छ ।
जेहोस् शक्तिउपासना सम्बन्धी मन्त्रहरू ऋग्वेदीय सूक्तहरूमा प्रशस्तै पाइन्छ । यसको अर्थ हो आर्यहरूले करिब ईपू. १५०० वर्षतिर शक्तिउपासनाको अध्याय शुरू गरिसकेका थिए । किनभने उनीहरूले दोस्रो बसाइँबाटै शुरू गरेका वेदमन्त्र प्रकटीकरणका कार्य तेस्रो बसाइँमा पूरा गरेका थिए, जुन ईपू. १००० तिरको समय थियो ।
यसबाट के बुझिन्छ भने शुरूका आर्यहरू शक्तिकाका उपासक थिएनन् । सिन्धु उपत्यकासम्म आइपुग्दा पनि त्यहाँका आदिवासीमा प्रचलित शिव र शक्तिपूजलाई लिङ्ग र योनीपूजन भन्दै घृणा गर्दथे तर के भएछ कुन्नि शायद स्थानीयशक्तिबाट प्रभावित भएर होला ईपू १५०० वर्षतिर पुग्दानपुग्दै शिव र शक्तिलाई इष्टेवता मान्न थालिसकेका थिए ।
आर्यहरूको प्रमुख उपास्यदेवमा पञ्चदेवता देखिएका छन्, जसलाई पाञ्चायन भनिन्छ । पाञ्चायनमा यिनै शिव, शक्ति, गणेश, सूर्य र विष्णु पर्दछन् । यिनमा शिव र शक्तिलाई उनीहरूले सिन्धुघाँटीतिर आउँदा आफूहरूले परास्त गरेका त्यहाँका आदिवासीले मान्दै आएका भएकाले स्थानीमानी देवताको रूपमा स्वीकारेको बुझिन्छ भने सूर्य र विष्णुलाई कुलपूर्वजको रूपमा लिइएको प्रतीत हुन्छ । किनभने ऐल र आदित्यहरूको कुलपूर्वज सूर्य र विष्णु दुवै थिए । यिनमा सूर्य उनीहरूको आफ्नै पितृपुर्खा थिए भने विष्णु जेष्ठपितृव्यपुर्खा थिए । किनकि अदितीपुत्र १२ भाइ आदित्यमा जेठा वरुण र कान्छा सूर्य थिए । तिनै वरुणको अर्को नाम नारायण अर्थात् विष्णु पनि रहेको पाइन्छ ।यसै अर्थमा आर्यहरूले उनीहरू दुवैलाई पितृपुर्खा मानेर उपासना गर्न थालेका अनुमान लगाउन सकिन्छ । थाहा छैन गणेशलाई भने किन समावेश गरे । हुनसक्छ शुभसंकेतसूचकको रूपमा पो लिएका थिए कि । जेहोस् आर्यहरूको प्रमुख उपास्यदेवमा पाञ्चायन पर्दछ, जसमा शिव र शक्ति पनि पर्दछन् । यद्यपि आर्यहरूका देवता ३३ कोटी छन् भन्ने गरिएको पनि पाइन्छ तर पहिलो कुरा त ३३ कोटी भनेका करोड नभई किसिम हुन्, जसमा द्वादशादित्य, अष्टवसु, एकादशरुद्र, इन्द्र र प्रजापति पर्दछन् । दोस्रो कुरा ती पछि गएर विकास भएका अवधारणा भन्ने बुझिन्छ । किनभने यिनीहरू सबै उनै १२ भाइ आदित्यसित सम्बन्धित नाम हुन् । जस्तै; सूर्यसहितका द्वादशादित्य त यसै पनि १२ भाइ आदित्य भइहाले अष्टवसु भनेका सूर्यपुत्र यमका पुत्र र एकादशरुद्र भनेका यमका पौत्र अर्थात् सूर्यका प्रपौत्र मानिएका छन् । अब आयो इन्द्र र प्रजापतिको कुरा । यिनमा इन्द्र द्वादशादित्यकै एउटा नाम हो भने प्रजापति भनेका ब्रह्मा हुन्, जुन उनै १२ भाइ आदित्यमध्ये जेठा वरुणको अर्को नाम हो ।
शक्तिपूजामा जुन पशुपक्षीको बलि दिने परम्परा छ त्यसलाई भने तन्त्रयुग शुरू भएपछि (करिब ईशाको चौथो वा पाँचौ शताब्दीतिर) मात्र अप्नाउन थालेको बुझिन्छ । किनभने तन्त्रशास्त्रमा पञ्चमकार (मांस, मत्स्य, मदिरा, मैथुन र मुद्रा) लाई वैध मानिएको छ । यद्यपि त्यहाँ पञ्चमकारलाई इन्द्रिय तृप्तिका लागि नभएर आत्मज्ञान प्राप्त गरी ब्रह्मसाक्षात्कार गर्ने अर्थमा लिइएइको थियो । तथापि पछिका शास्त्रकारहरूका गलत व्याख्याका कारण काटमारले प्रश्रय पाएको बुझिन्छ । त्यसैले यसमा संशोधन शक्तिपूजालाई पुन: सात्विक बनाउनु परम आवश्यक देखिन्छ ।
यद्यपि कहीँ कतै पशुपक्षीलाई मुक्ति दिन पनि बलि दिनु अनिवार्य हुन्छ भन्ने गरिएको पनि पाइन्छ । तर, यसको अन्तर्यमा नितान्त स्वार्थीपनबाहेक केही देखिन्न । होइन भने यसको प्रयोग आफैं र आफ्नैमा गर्नुपर्ने अवस्था आउन सक्छ । किनभने मुक्ति सबैको अभीष्टवस्तु हो । हो, शक्तिको मात्र होइन जुनसुकै पूजामा पनि बलिको कुरा आएको छ तर त्यो भनेको देवीदेवतालाई चडाउने विशुद्ध सात्विक पदार्थ हो, नकि पशुपक्षीको रगत र मासु । बेलायतजस्तो स्थान, जहाँ अन्त्येष्टिकार्यमा समेत प्राय: मासु अनिवार्य हुन्छ । त्यस्ता स्थानमासमेत देवीदेवताको नाममा पशुपक्षीको बलि ग्राह्य रहेको पाइन्न ।
हुन त पशुबलिको व्यवस्था वेदमै भएको छ भन्नेहरूको समूह पनि सानो छैन । उनीहरू उदाहरणका लागि अश्वमेध यज्ञको कुरा गर्ने गर्दछन् तर, त्यो पनि घोडा मार्ने अर्थमा नभई संस्कार अर्थात् पूजा गरेर छाड्ने अर्थमा हो । यदि अश्वमेधयज्ञ भन्ने बित्तिकै घोडालाई काट्ने अर्थमा लिने हो भने चौपट हुन्छ । किनभने वेदमा गोमेधयज्ञको कुरा पनि आएको छ, पितृमेधयज्ञको कुरा पनि आएको छ ।
अश्वमेधलाई घोडा मार्ने अर्थमा लिन थाल्ने हो भने ती गोमेध र पितृमेधलाई कसरी अर्थ्याउने ? यद्यपि कसैलाई मासु नखानुस् भन्न मिल्दैन । तथापि नखाँदा राम्रो भने पक्कै हो । होइन खानै मन लाग्छ भने मन लाग्नेले खाए हुन्छ तर यसैको निम्ति देवीदेवीको नाम भजाउनु भने राम्रो होइन । अस्तु अहिलेलाई यति नै ।


