२७ जेष्ठ २०८३, बुधबार 1781112584
Banner

शक्तिपीठको महत्त्व

काठमाडौं : नवरात्रभर भगवती दुर्गाका नौ स्वरूपको विशेष पूजा आराधना गर्ने परम्परा छ। 

विधिपूर्वक घटस्थापना गरिएका दशैँघरमा शैलपुत्री, ब्रह्मचारिणी चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ। साथै महाकाली महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ। यिनै शक्तिस्वरूपा भगवतीको आराधना गर्न क्रममा नवरात्रभर शक्तिपीठ जाने परम्परा छ।

शक्तिपीठको दर्शनको ठूलो महिमा बताइएको छ। शक्तिपीठको दर्शनले आध्यात्मिक शान्ति प्राप्त हुनुका साथै सुख शान्ति र समृद्धि मिल्छ भन्ने मान्यता छ।

शक्तिपीठको महत्त्व

पुराणमा एउटा प्रसंग आउँछ, सतीदेवी दक्षप्रजापति र विरणीकी जेठी छोरी हुन्। भगवान् विष्णुले छल गरी सतीको विवाह महादेवसँग गराइदिएका थिए। दक्षले ज्वाइँ महादेवलाई मन पराउँदैनथे। 

एकपटक उनले गरेको ठूलो यज्ञमा सबैलाई बोलाए सती र महादेवलाई बोलाएनन्। यो थाहा पाएर सती चित्त दुखाउँदै माइत पुगिन्। तर दक्षले महादेव पनि आउने हुनाले छोरीलाई समेत नबोलाएको मात्र भनेनन् उनको निन्दा समेत गरे। त्यो सहन नसकी सती यज्ञकुण्डमा हाम फालिन्।

यज्ञकुण्डबाट झिकेर शिव बहुलाहाजस्तो भई सतीको मृत शरीर काँधमा हालेर पृथ्वी भ्रमण गर्न थाले। पछि सतीको शरीर गलेर एक एक अंग गर्दै झर्न थाले। देवी उपपुराणमा बताइएअनुसार सतीदेवीका अंग झरेका स्थानमा एक-एक शक्तिपीठ बने। सतीदेवीका अंग पतन भएका स्थानमा बनेका शक्तिपीठ असंख्य भए पनि प्रमुख रूपमा ५२ वटा भएको बताइन्छ। 

अधिकांश शक्तिपीठ भारतको भूभागमा छन्। केही नेपाल, पाकिस्तान, श्रीलंका र तिब्बतमा समेत छन्।

नेपालमा भने सतीको गुह्य पतन भएको गुह्येश्वरी पीठ प्रमुख मानिन्छ। पशुपतिनाथको मन्दिरदेखि एक किलोमिटर पूर्वमा रहेको गुह्येश्वरीको मन्दिर वागमती नदीको किनारमा अवस्थित छ। चाँदीको कलशले ढाकिएको मन्दिरभित्रको जलपूर्ण कुण्डलाई श्रद्धालु देवीको रूपमा पूजा आराधना गर्छन्। 

नेपालमै पनि अनेकौँ शक्तिपीठ छन्। काठमाडौंमा गुह्येश्वरीबाहेक, शोभाभगवती, नक्साल भगवती नरदेवी (श्वेतकाली), रक्तकाली, मैतीदेवी र कालिकास्थान संकटा प्रमुख शक्तिपीठ मानिन्छन्।

भक्तपुरमा इन्द्रायणी, नवदुर्गा ललितपुरमा बज्रबाराही, रुद्रायणी, उपत्यकाबाहिर गोरखामा मनकामना, पाल्पामा तानसेन भगवती, बाँकेमा बागेश्वरी, बागलुङमा माईस्थान, डोल्पामा त्रिपुरासुन्दरी, कालीकोट र बाजुराको सिमानामा पर्ने बडीमालिका भगवती, पोखरामा बिन्ध्यवासिनी र बारामा गढीमाईलगायत शक्तिपीठ छन्।