६ आश्विन २०८१, आइतबार 1727000942
Banner

भरतपुर-१९ मा एमालेका प्रकाश तामाङ विजयी

चितवन – २०७४ सालको स्थानीय तहको निर्वाचनमा मतगणनाका क्रममा मत च्यातिएको वडा-१९ को अध्यक्षमा एमालेका प्रकाश तामाङ निर्वाचित हुनुभएको छ ।

कांग्रेसको पकड क्षेत्रका रुपमा लिइने यस वडामा तामाङले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका द्रोणबहादुर गुरुङलाई पराजित गर्दै विजय हासिल गर्नुभएको हो । जम्मा तीन हजार ४८८ मत खसेको थियो।

२०७४ को निर्वाचनमा वडा-१९ को मतगणनाका क्रममा माओवादीका कार्यकर्ता द्रोण सिवाकोटी र मधु न्यौपानले मतपत्र च्यातेपछि यस वडामा पुनःमतदान भएको थियो । मतपत्र च्यात्ने सिवाकोटी र न्यौपानेलाई अदालतले जनही एक-एक लाख जरिवाना तिराएको थियो । पुनः मतदान भएपछि यस वडामा कांग्रेसका कर्णबहादुर गुरुङसँग ३८१ मतान्तरले पराजित हुनुभएका प्रकाश तामाङ अहिले गठबन्धनका साझा उम्मेदवारसँग एक्लै प्रतिस्पर्धा गरेर विजयी हुनुभएको हो । वडा सदस्यहरुमा तीन जना एमाले र एक जना कांग्रेसबाट निर्वाचित हुनुभएको छ ।

भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेकोमा हालसम्म ९३ हजार ७३२ मत गनेर सकिएको छ । अब ३४ हजार १०७ मत गन्न बाँकी छ । हालसम्म कांग्रेसले ११, एमालेले पाँच, एकिकृत समाजवादीले दुई र माओवादी केन्द्रले एक वडा जितेका छन् ।