रुकुम पूर्व – रुकुम पूर्व अधिकांश भूभाग भिरालो पाखो छ वर्षौँ पहिले देखि त्यही पाखोलाई सम्म्याएर बनाइका बारीका ठूल्ठूला गह्रा छन् । गह्राको डिलमा डाले घाँस हरियाली, बारीको बिचमा गाई भैसी बाँध्ने अस्थायी (टहरा) गोठ बनाउँछन् ।
सिँचाइको सुविधा भए पनि प्रयोग विहीन रहेको छ । उब्जनी राम्रो भए पनि युवा पुस्ता विदेश पलायन हुँदा हजारौँ रोपनी जग्गा कहिँकतै फ्याट्ट फुट्टरुपमा आलु र मकै खेती बाहेक अरू जमिन बाँझै पल्टिएको छ । त्यही बाँझो जमिनलाई स्थानीयले भेडा, गाई, भैँसी, गोरु र बाख्रा पाल्ने अस्थायी गोठको रूपमा प्रयोग गरेका छन् । केही वर्ष अघिसम्म अत्यन्त दुर्गम मानिने गाउँघरमा अहिले यातायातको पहुँच पुगेसँगै सुगम त भएको छ, तर स्थानीयको परम्परागत मान्यता र सोचाइमा भने परिवर्तन आउन नसकेको पुथा गाउँपालिका वडा १० तकसेराका वडा सदस्य काजीमान घर्तीले बताउनुभयो ।

वडा सदस्य घर्तीका अनुसार उन्नत तरिकाको खेतीपाती,व्यावसायिक पशुपालन र आयआर्जन मूलक कार्यक्रममार्फत यस गाउँको विकास गर्न सकिने प्रशस्तै सम्भावनाहरू यहाँ रहेका छन् । तर,यी सबै कुराहरू केवल सपना मात्र भएका छन् । किनभने यहाँका स्थानीय बासिन्दाहरू खाली जग्गालाई घुम्ती गोठको रूपमा बाहेक अरू कुरामा प्रयोग गर्न मान्दैनन् ।
घुम्ती गोठ यहाँको विकासका लागि बाधक बनेको छ, गाउँ भरी २०० भन्दा बढी घुम्ती गोठहरू रहेका छन्, खेती गर्नु पर्ने जग्गालाई बाझै पल्टाएर घाँस उमारेपछि खाद्यान्न लगायत अन्य वाली मा कहिले आत्मनिर्भर हुन सकिन्छ । हामीलाई यसैमा आनन्द छ, वर्षामा पशु गोठ बुकी (लेक) मा लैजान्छौँ, हिउँदमा बेसी झार्छौँ, पशु पाल्छौँ, दूध,मही खान्छौँ, यसै गरी यत्रो जीवन बाँचियो, अब मर्ने बेलामा किन नानाभाँति गर्नु प-यो भनेर स्थानीय बताउँछन् ।
बाजे,बराजुको पालादेखि जे चलेको थियो त्यसैलाई हामीले पनि थामेका हौँ भनेर स्थानीय परिवर्तन हुन नचाहेको वडा अध्यक्ष भरत बुँदाले बताउनुभयो । कृषि र पशुपालनमा प्रशस्तै सम्भावना भएको यस ठाउँबाट स्थानीयले लाभ लिन नसकेका वडाध्यक्ष पुन स्विकार्नुहुन्छ । घुम्ती गोठलाई व्यवस्थित बनाइ त्यहाँ व्यावसायिक कृषि गर्ने सोच भए पछि स्थानीयको बेवास्ताका कारण त्यसो गर्न नसकिएको बताउनुभयो । युवा पुस्तालाई कृषि र पशुपालनतर्फ कुनै रुचि छैन । उनीहरू वैदेशिक रोजगारका लागि मरिहत्ते गर्छन् । पुराना पुस्ता आफ्नै रैथाने तरिका परिवर्तन गर्न चाहँदैनन् । गाउँपालिका र वडाले अनुदान दिन्छ, फरक तरिकाले पशुपालन गरौँ भनेर सल्लाह दिँदासमेत नमानेको वडा सदस्य घर्तीले बताउनुभयो । यहाँका बासिन्दाको आम्दानीको मुख्य स्रोत भनेकै वैदेशिक रोजगार हो । विदेशबाट आउने रेमिट्यान्सले यहाँको दैनिकी धानिएको छ । यहाँको जमिनलाई राम्रोसँग सदुपयोग गर्न सक्ने हो भने रोजगारीका अनेकौँ अवसरहरू छन् ती अवसरहरू त्यतिकै खेर गइरहेका छन् ।
जिल्लाका लेकाली क्षेत्रहरूमा प्रशस्तै मात्रामा पशुपालन गरिन्छ । निर्वाहमुखी पशुपालन भनिए पनि भेडा बाख्राबाट भने यहाँका किसानले राम्रै आम्दानी गरेका छन्,भेडा बाख्रा बेचेर वार्षिक ५ लाख कमाउने व्यक्तिहरू पनि पूर्वी क्षेत्रका लेकाली बस्तीहरूमा भेटिन्छन् ।भेँडाबाख्रा, गाई,भैँसीका लागि गाउँमा घाँसको कमी हुन जान्छ । आहाराको अभावले पशु चौपाया मर्ने समस्या हुनसक्छ, त्यसैले गर्मी र चिसो छल्नका साथै पशुलाई आहाराको कमी हुन नदिन किसानहरूले चिसोको समयमा घुम्ती गोठहरू बेँसी झार्छन् भने गर्मीको समयमा लेकतर्फ उकाल्ने गर्दछन् । लेकाली गोठहरूमा झन्डै ५ हजार गाई,भैँसी र गोरु पालिएका छन् भने भेडी गोठमा झन्डै १० हजारको हाराहारीमा भेँडाबाख्रा पालिएका छन् ।
चिसोमा बेँसी झारिएका घुम्ती गोठहरू गर्मी सुरु भएसँगै लेकतिर सारिन्छ । चिसो महिनामा माथिल्लो क्षेत्रमा रहेका गोठहरू बेँसी सारिन्छ । पशुपालन गर्नु निकै दुःखको पेसा हो । यति धेरै दुःख गरेर धानिएको यो पेसा आजसम्म आय आर्जनसँग जोडिन सकेको छैन ।
गोठभरि गाईभैंसी, हलगोरु र भेडा बाख्रा हुँदा पनि घुम्ती गोठका गोठालाहरूको अवस्था भने ज्युँका त्युँ छ । छोरा,नाति विदेश भए पनि उनीहरू आफ्नै इच्छा र परम्परागत लुगामा रमाउन अभ्यस्त छन् । वडाध्यक्ष बुदा भन्नुहुन्छ पैसा नभएर होइन, छोरा नाति, अमेरिका, अस्ट्रेलिया छन् । यिनीहरूले जे मागे पनि पुर्याइ दिन्छन् । तर,लगाउँदै नलगाए पछि उनीहरू पनि के गरुन् ।
पशुपालन कृषकहरूलाई आयआर्जनसँग जोड्न वडाले पटक पटक गरेको प्रयास पनि उहाँहरूकै बेवास्ताका कारण असफल भएको बताउनुभयो । उहाँका अनुसार परम्परालाई छोड्न नसक्नु नै यहाँका पशुपालन कृषकहरू आय आर्जनसँग जोडिन नसक्नुको मुख्य कारण हो । लेकाली जङ्गल र खर्कहरू जैविक विविधताले भरिएका छन् । यहाँ यार्सागुम्बा, बिकमा, कटुकी, निरमसी, बोधो, सतुवाजस्ता बहुमूल्य जडीबुटी पाइन्छन् । खर्कहरूमा चरिचरन खुला गरिदा यस्ता बहुमूल्य जडीबुटीहरू पशु चौपायाको आहारा बनेका स्थानीयले बताउँछन् ।
साथै यहाँ लोपोन्मुख जनावर हाब्रे (रेड पान्डा), नाउर, मृग, चितुवा, बनविरालो, बाँदर जस्ता जङ्गली जनावर र डाँफे, मुनाल, गिद्ध, ढुकुर, तित्रो, उल्लु, चिल जस्ता पंक्षीहरुको वासस्थान पनि रहेको छ । गोठ सर्दा मानिसहरू पनि सँगै हुने र चोरी सिकार गर्ने हुँदा जैविक विविधताका स्रोतहरू पनि नासिँदै गएका त्यस क्षेत्रका जनप्रतिनिधिहरूले बताएका छन् ।


