स्याङजा – स्याङ्जाको वालिङ नगरपालिकाका कृषकहरु खोर निर्माणमा अनुदान पाए पछि उत्साहित भएका छन् । वडा नं.१,२,३,४,५,६ र ७ का कृषकहरुले अनुदानमा बाख्राको खोर निर्माण गरेका हुन् । वडा नं. ६ का कृषक सीता कामीले अनुदानमा खोर निर्माण गर्न पाए पछि आफूहरु उत्साहित भएको बताउनु भयो । उहाँले भन्नुभयो,“आफ्नै तरिकाले बाख्रा पाल्दै आएका थियौं अहिले त खोरको स्वरुप नै फेरियो” आधुनिक तथा व्यवस्थित खोर निर्माण पछि बाख्रा पालन प्रति आकर्षण समेत बढेको छ ।
वालिङ नगरपालिकामा सञ्चालित “वालिङ कृषि विकास परियोजना” अन्तर्गत बाख्राको खोर निर्माण गरिएको हो । साना किसान तथा महिलालाई उद्यशीलतामा जोड्ने उद्देश्यले सुरु भएको कार्यक्रम मार्फत कृषकले अनुदानमा खोर निर्माण गरेका हुन् । कृषकले खोरमा ५० प्रतिशत अनुदान पाएका हुन् ।
बाख्रा पालनको लागि राम्रो वातावरण भएको वालिङ नगरपालिकामा ९० वटा आधुनिक खोर निर्माण गरिएको नगरपालिकाका पशुसेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालले बताउनु भयो । उहाँका अनुसार आधुनिक खोर निर्माणले बाख्रा पालक कृषकलाई सहज भएको छ ।
सुविधा सम्पन्न खोरमा बाख्रा पालन गर्दा विभिन्न रोगको सङ्क्रमण कम हुनुको साथै उत्पादन र उत्पादकत्व बृद्धि हुने डाक्टर बस्यालले बताउनु भयो ।
बाख्रा पालनलाई ब्यवसायिक बनाउँदै उत्पादन बढाउने उद्देश्यले आधुनिक खोर निर्माण गरिएको वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणको भनाई छ । निर्वाहमूखी कृषि प्रणालीमा परिवर्तन गर्ने पालिकाको योजना अनुरुप काम भईरहेको उहाँले बताउनु भयो ।
वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक र प्राविधिक सहयोग तथा दियालो संस्थाको ब्यवस्थापनमा सञ्चलिन परियोजनाले साना किसान र महिलाहरुको लागि उद्यमशीलतामा जोड्ने काम गर्दै आईरहेको छ ।


