पाल्पा- हिन्दु नेपालीहरूको मुख्य चाडपर्वहरू बडादसैँ, दिपावाली, छठ लगायतका उत्सवहरू नजिकिएसँगै पहाडी जिल्ला पाल्पामा नेवार समुदायको मौलिकता बोकेको झिनिया रोटी बनाउन यहाँका उद्यमीहरूलाई भ्याई नभ्याई भएको छ ।

पाल्पा सदरमुकाम तानसेनसँगै जिल्लाको ग्रामिण भेगसम्मका नेवारी महिला दिदीबहिनीलाई चामलको पिठोबाट बन्ने झिनिया रोटी बनाऊन भ्याई नभ्याई भएको हो । पहले पहिले नेवार समुदायका जात्रा, पर्व, शुभकार्य र उत्सवहरूमा प्रसादको रूपमा प्रयोग हुने झिनिया रोटी आजभोलि अन्य समुदायले पनि प्रयोग गदै आएका छन् । अन्य समुदायका बाहुन, क्षेत्री, मगर लगायतका जातजातिले समेत यो रोटीलाई प्रयोगमा ल्याउन थालेसँगै झिनिया रोटीको माग बढेको झिनिया रोटी बनाउने उद्यम अँगाल्नु भएकी तानसेनकी व्यापारी शकुन्तला बज्राचार्यले बताउनुभयो । पछिल्लो समय यो रोटी खाजाको रूपमा समेत निकै लोकप्रिय बन्दै गएको छ । तानसेनको टक्सारटोल, बगनासकाली गाउँपालिकाको पोखरा थोक, माथा गढी गाउँपालिकाको सराई र रामपुर नगरपालिकाको बेझाड बजारमा समेत व्यावसायिक रूपमा झिनीया रोटी बनाउने गरिन्छ ।
चामलको पिठोमा पानी मिसाएर त्यसलाई विभिन्न रङ्ग दिएर हाते मेसिनद्वारा बनाउने रोटीलाई झिनिया रोटी भनिन्छ । हेर्दा पनि राम्रो देखिने र देवी देउता भगवानलाई चढाउने चोखो प्रसादको रूपमा यसलाई लिने गरिएको छ ।


