काठमाडौं, २ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले आफूलाई नै सबैले नेतृत्वमा हेर्न चाहिरहेको बताएका छन् । आज आयोजित सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिले पनि आफूलाई पार्टी नेतृत्वमै देख्न चाहानेहरू धेरै रहेका बताएका हुन् । ‘मैले नखेल्ने हो भने अर्को क्याप्टेन निस्कन्छ,’ ओलीले भने, ‘अहिले केपी ओली नै क्याप्टेनका हेर्न खोजेका छन्।’

उनले आफूसँग काम गर्ने क्षमता भएको र शारीरिक रूपमा पनि सक्षम रहेको स्पष्ट पारे । उनले भने, ‘मसँग काम गर्ने क्षमता छ, म शारिरीक रुपमा राम्रो छु। अमेरिकाको, बंगलादेशका ८५/७५ पूरा गरेर ७६ वर्षका भारतमा हुनुहुन्छ। म त ७३ को मात्र,’।
अध्यक्ष ओलीले समाजमा प्रत्येक नागरिकले आत्मसम्मानसहित बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने बताउनुभयो। अध्यक्ष ओलीले आफ्ना मूल्य र मान्यता देश, जनता र मानव जातिप्रति निष्ठासाथ अडिग रहेको दाबी गर्नुभयो।
पत्रकारितासँग सम्बन्धित विषयमा पनि बोल्दै अध्यक्ष ओलीले आफ्नो प्रधानमन्त्री कार्यकालमा प्रेस स्वतन्त्रता कुण्ठित नभएको बताउनुभयो। ‘मैले प्रधानमन्त्री हुँदा पत्रकारले डराएर लेख लेख्नुपर्ने अवस्था थिएन। आत्मसेन्सर गर्ने, आफैंलाई रिस्टिक्ट गर्नुपर्ने अवस्था थिएन, ’अध्यक्ष ओलीले भन्नुभयो।
अध्यक्ष ओलीले देश विकासको दिशामा अघि बढिरहेको अवस्थामा हाल देश अस्थिरतातर्फ गएको आरोप लगाउनुभयो । ‘देश सार्वभौमसत्ता जर्गेना गर्दै अगाडि बढिरहेको थियो, त्यो अहिले भताभुङ्ग भएको छ,’अध्यक्ष ओलीले भन्नभयो।
कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो बफादारी कसैलाई मन नपरे पनि राष्ट्र, जनता र मानवताप्रतिको प्रतिबद्धता नछोड्ने स्पष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘मेरो बफादारिता कसैलाई मन नपरे पनि देशप्रति मेरो बफादारिता छ। यस देशको जनताप्रति मेरो बफादारिता छ, मानव जातिप्रति मेरो बफादारिता छ, त्यसकारण अघि मैले भनेका मूल्यमान्यताहरु मेरा निष्ठाका विषय हुन्।’


