विराटनगर । तिहार भित्रिँदै गर्दा बजारमा सयपत्री फूलका मालाले सबैको ध्यान तान्छ । घरको दैलो, झ्याल, पूजा कोठादेखि गलामा लगाउनसम्म प्रयोग हुने यी मालाले चाडको रौनक नै बेग्लै बनाउँछन् । हाम्रो घरआँगनलाई सुन्दर बनाउने यी माला पछाडि कति धेरैको मेहनत, पसिना र आशा लुकेको हुन्छ भन्ने कुरा हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ । मोरङको कटहरीका एक किसानले त्यही मेहनतको एउटा सुन्दर झलक देखाएका छन् ।

शनिबार बिहानीको घामसँगै महिलाहरूको एक समूह सयपत्री फूलको बारीमा व्यस्त देखिन्छ । उनीहरूका अनुहारमा देखिएको मुस्कान र सन्तुष्टिले फूल टिप्ने कामलाई उत्सवजस्तै बनाएको छ । हरेक बोटबाट ताजा र फक्रिएका फूलहरू टिपेर उनीहरूले आफ्नो सारीको छेउ वा झोलामा जम्मा गरिरहेका छन् । यो दृश्यले देखाउँछ कि तिहारको आगमनले उनीहरूको जीवनमा आर्थिक अवसरमात्र नभई खुसी पनि लिएर आउँछ ।
खेतबाट टिपिएका ताजा फूलहरूलाई अस्थायी रूपमा बनाइएको टहरामुनि ठुलो थुप्रो लगाइन्छ । यहाँ अर्को समूहका महिलाहरू माला उन्ने काममा तल्लीन छन् । लामो सियो र धागोको मद्दतले उनीहरूले कुशलतापूर्वक एक–एक फूललाई मालामा गाँस्छन् । उनीहरूको हात यति छिटो चलिरहेको छ, मानौँ कि यो उनीहरूको वर्षौँको अनुभव र कलाको प्रतीक हो । यो केवल काममात्र होइन, एक किसिमको सामूहिक प्रयास हो, जहाँ महिलाहरू एकअर्कासँग कुराकानी गर्दै, हाँस्दै आफ्नो काम सम्पन्न गर्छन् । तयार भएका सयौँ माला टहरामा लहरै झुण्ड्याइएका छन् । सुन्तला र पहेँलो रङका यी मालाले त्यो ठाउँलाई नै सुनौलो बनाएको छ । यी माला अब बजार जान तयार छन् । एउटा अटो–रिक्साले यी फूल र मालाहरूलाई सहरका बजारसम्म पुर्याउने सङ्केत गर्छ, जहाँबाट ती हाम्रो घरसम्म आइपुग्छन् ।
तिहारमा नेपालीहरूका लागि केवल बत्ती र देउसी–भैलोको पर्वमात्र होइन, यो धेरैका लागि आयआर्जनको महत्त्वपूर्ण अवसर पनि हो भन्ने कुरालाई उजागर गर्छ । विशेषगरी ग्रामीण क्षेत्रका महिलाहरूका लागि फूलखेती र मालाको व्यापारले आर्थिक रूपमा आत्मनिर्भर बन्न ठुलो मद्दत पुर्याएको छ । उनीहरूको यही मेहनतले गर्दा हामी सहरवासीले सजिलैसँग ताजा फूल र माला पाउँछौँ र आफ्नो तिहारलाई सुन्दर बनाउँछौँ । मोरङमा फूलखेतीको राम्रो सम्भावना रहेको कुरा यहाँका किसानहरूले प्रमाणित गरिदिएका छन् । कटहरी गाउँपालिकाका उत्साही युवा किसानहरूले गरेको फूलको खेती यतिखेतर धेरैका लागि प्रेरणाको स्रोत पनि बनेको छ ।
मगमग बास्ना आउने र आँखाले भ्याउन्जेलसम्मको दुरीमा फैलिएको यो सयपत्री बगैंचाको सुन्दरता वर्णन गरीसाध्य छैन । कटहरी गाउँपालिकाको वडा नम्बर ४ मा रहेको किसानको यो बगैँचाले मोरङमा फूलखेतीको राम्रो सम्भावना रहेको प्रमाणित गरेको छ । यहाँ कटहरीका किसान रामकुमार राजवंशीले दुई वर्षदेखि फूल खेती गर्दै आएका छन् । कटहरी तरकारी खेतीका लागि प्रसिद्ध छ । यद्यपि भारतबाट निर्बाध आयात हुने तरकारीसँग आफ्नो उत्पादनले प्रतिस्पर्धा गर्न नसकेपछि राजवंशीसहित थप दुई युवाले फूलखेती गर्ने सोच बनाए । उनीहरूले जग्गा भाडामा लिएर साढे दुई बिघामा फूल खेती गरेका छन् ।
यतिबेला फूलको माग अत्यधिक छ । बारीको फूल आफूले मात्रले टिपेर नभ्याउने भएपछि राजवंशी सहितको कृषक समूहले फूल टिप्न, माला बनाउन र बजारसम्म पुर्याउन २० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । चाडपर्वको सिजनमा प्रत्येक वर्ष भारतसहितको विदेशी बजारबाट करोडौँ मूल्य बराबरको सयपत्री, गोदावरी र गुलाब लगायतका फूल आयात हुन्छ । विदेशबाट आयात हुने फूल र कागज तथा प्लास्टिकबाट बनेका कृत्रिम फूल प्रयोग गर्ने प्रचलन फूलखेती व्यवसायमा चुनौतीका रूपमा रहेको छ । त्यतिमात्र नभई सरकारी उदासीनता पनि अर्को चुनौतीको रूपमा देखिएको छ ।
प्रदेश तथा स्थानीय तहहरूले पुष्पखेती प्रवर्द्धन सम्बन्धी कुनै कार्यक्रम राखेका छैनन् ।


