उदयपुर, १७ कात्तिक । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञावालीले भयरहित वातावरण नबनेसम्म एमाले चुनावमा सहभागी नहुने बताएका छन् । सोमबार एमाले जिल्ला कमिटी उदयपुरले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ज्ञवालीले यस्तो बताएका हुन् । भदौ २३ र २४ गतेको घटनापछि मुलुक निकै ठूलो दलदलमा गुज्रिरहेको अवस्थामा चुनावमा कसरी जान सकिन्छ भन्दै नेता ज्ञवालीले सरकारलाई प्रश्न गरे ।
भदौ २३ र २४ गतेको घटनापछि जेलबाट भागेका झन्डै साढे ५ हजार कैदीबन्दीहरु अहिले पनि जेल बाहिर रहेको, सुरक्षाकर्मीका लुटिएका आधाभन्दा धेरै हतियार अहिले पनि बाहिर भएको अवस्थामा चुनाव कसरी भयरहित तरिकामा सम्पन्न हुन्छ ? जनताले आफूलाई सुरक्षित महशुस गरेर कसरी निर्धक्क मतदानमा सहभागी हुन सक्छन् भन्ने आफूहरुको प्रश्न रहेको बताउँदै नेता ज्ञवालीले यो अवस्थामा चुनाव हुन नसक्ने निष्कर्षसहित एमाले यथास्थितिमा चुनावमा नजाने निर्णय गरेर बसेको बताए ।
नेता ज्ञवालीले एमाले पञ्चायत, राणा शासन र निरंकुश राजतन्त्रको विरुद्धमा लडेर आएको पार्टी भएको र आफूहरुको मूल मन्त्र जनताको बहुदलीय जनवाद (जबज)रहेकोले चुनावमा नजाने, चुनावबाट भाग्ने भन्ने प्रश्नै नहुने बताउँदै चुनावमा सहभागी हुने दल र आम मतदातालाई भयरहित वातावरणमा निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउन नसकुञ्जेल आफूहरु चुनावमा नजाने भन्ने निष्कर्षमा पुगेको समेत बताए । उनले आफूहरु विघटित संसदलाई पुर्नस्थापित गरेर सदनबाटै संविधान संशोधनमार्फत अहिलेको समस्याको समधान गर्नुपर्ने पक्षमा रहेको समेत बताए ।
नेता ज्ञवालीले एमालेले संसद पुनर्स्थापनाको माग फेरि सत्ता र कुर्सीको मोहले गरेको नभएर संविधानतः देशलाई एउटा निकासको बाटोमा लैजान संसद पुनर्स्थापनाको माग गरेको जिकिर गरे । उनले संविधानले अहिलेको सरकारलाई समेत नचिन्ने अवस्था रहेको र मुलुकमा चुनाव हुने वातावरण समेत नबनेको अवस्थामा मुलुकलाई अस्थिरता र अनिर्णयको बन्दीबाट स्थिरता र निकासको बाटोमा लैजान संसद पुनर्स्थापना गरेर यही संविधानमा एउटा धारा थप गरेर अहिलेको आन्दोलनको भावना अनुसार सरकार गठन गरी उक्त सरकारबाट निर्वाचन गराउँदा हित हुने दाबी गरे ।
ज्ञवालीले भदौ २३ र २४ गतेको घटना पश्चात गठित छानबिन समितिले सत्यतथ्य छानबिन गर्न नसक्ने ठोकुवा गरे । वर्तमान सरकारले गठन गरेको छानबिन समितिका अध्यक्ष गौरीबहादुर कार्की समितिको अध्यक्ष हुनु पूर्वदेखि नै पूर्वाग्रही तरिकाले प्रस्तुत हुने गरेको भन्दै उनीबाट कसरी सत्यतथ्य छानबिन हुन्छ भन्ने प्रश्न सरकारलाई गरे । उनले एमाले भदौ २३ र २४ को घटनाको सत्यतथ्य छानबिनको माग गरिरहेको समेत बताए ।
भदौ २३ गते स्कुले विद्यार्थीहरुलाई मानव ढाल बनाएर ओरिजिनल तिब्बतीयन ब्लड नामका ज्याकेट लगाएकाहरुले, बुलेट बाइकमा आएका भीडले घटना उत्तेजित बनाएर देशमा विध्वंस मच्चाएको भन्दै यस किसिमको अवस्थामा अहिले गठित पूर्वाग्रही छानबिन समितिले सत्यतथ्य छानबिन गर्न नसक्ने हुँदा आफुहरु सर्वोच्च अदालतका पुर्वन्यायाधीशहरु सम्मिलित एउटा निष्पक्ष आयोग गठन गरेर घटनाको सत्यतथ्य जनता सामु ल्याउनु पर्ने मागसहित अब आम जनताको घरदैलोमा जाने तयारीमा पुगेको समेत उनले बताए । एमाले अब जनताको घरघर र टोलटोलसम्म गएर जनताको भावना र चाहना अनुसार अघि बढ्ने समेत नेता ज्ञवालीको भनाइ थियो ।
एमाले उदयपुरले हिजो मात्र जिल्ला कमिटिको आठौं विस्तारीत बैठक सम्पन्न गरेको थियो । कमिटीले २०४६ साल यता पार्टीबाट राज्यको विभिन्न निकायमा विभिन्न जिम्मेवारीमा पुगेका नेताहरुको सम्पत्ति छानबिन गर्न वर्तमान सरकारसँग माग गर्ने निर्णय गरेको थियो । भने पार्टीले जेनजी आन्दोलनका क्रममा जलेको पार्टी कार्यालय पुनः निर्माणका लागि म बनाउँछु पार्टी कार्यालय अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले बताए ।
५ सयभन्दा बढी नेता तथा कार्यकर्ताको उपस्थितिमा एमाले उदयपुरले बृहत कार्यकर्ता भेला सम्पन्न गरेको एमाले उदयपुरका सचिव टेकबहादुर राउतले जानकारी दिए । भेलामा नेकपा (एकीकृत समाजवादी)का नेताहरु पुनः एमालेमा फर्किएका थिए । उनीहरुलाई एमाले कोशीका इन्चार्ज शेरधन राईले पार्टीमा स्वागत गरेका थिए ।


