१ जेष्ठ २०८३, शुक्रबार 1778898466
Banner

ट्रंक/डेडिकेटेड महसुल विवाद: बक्यौता तिर्ने १० उद्योगमा लाइन जोडियो, नतिर्ने १५ उद्योग अन्धकारमै

काठमाडौँ ।  ट्रंक तथा डेडिकेटेड फिडरको अतिरिक्त प्रिमियम शुल्कबापतको बक्यौता रकम नतिरेपछि काटिएको विद्युत् लाइनमध्ये महसुल बुझाउने १० वटा उद्योगमा मात्रै पुनः लाइन जोडिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार, यसअघि लाइन काटिएका कूल २५ वटा उद्योगमध्ये किस्ता रकम नबुझाउने १५ वटा उद्योगमा भने अहिले पनि विद्युत् जडान गरिएको छैन ।

प्राधिकरणका प्रवक्ता राजन ढकाल ले महसुलबापतको किस्ता तिर्ने १० वटा उद्योगमा पुनः लाइन जोडिएको र बाँकी १५ वटा उद्योगले महसुल नतिरेकाले लाइन काटिएकै अवस्थामा रहेको बताएका छन् ।

पेचिलो बन्दै विवाद

यसअघि प्रधानमन्त्री शुशीला कार्की ले निजी क्षेत्रका उद्योगीहरूसँग छलफल गरेर विवाद सुल्झाउन मध्यमार्गी प्रस्तावमा सहमति जनाए पनि उद्योगीले अहिलेसम्म बक्यौता महसुल बुझाएका छैनन्।

प्राधिकरणको अडान: प्राधिकरणले बक्यौता रकम २८ किस्तामा तिर्न उद्योगीहरूलाई आग्रह गरेको छ ।

उद्योगीको अडान: उद्योगीहरूले भने विवादित रकमको एक किस्ता बराबरको रकम धरौटीका रूपमा मात्र बुझाउन सहमत भएका थिए ।

प्राधिकरणले किस्तालाई धरौटीका रूपमा मान्न तयार नहुँदा यो महसुल विवाद थप पेचिलो बन्दै गएको छ ।