७ जेष्ठ २०८३, बिहिबार 1779350112
Banner

पूर्व मन्त्री खड्काले बनाएको संरचना महानगरले भत्कायो

काठमाडौं। काठमाडौं महानगरपालिकाले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा पूर्व ऊर्जामन्त्री दीपक खड्काले निर्माण गरेका संरचनामा डोजर चलाएर भत्काएको छ।

आज बिहान महानगर प्रहरीको टोली डोजरसहित स्थलमा पुगेर ती संरचनाहरू हटाएको हो। कांग्रेस नेता खड्काले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको जग्गा भाडामा लिएर प्रयोग गर्दै आएका थिए। तर लामो समयदेखि भाडा नतिरेकाले स्काउटले गत २० कात्तिकमा सूचना जारी गर्दै सात दिनभित्र भुक्तानी गर्न चेतावनी दिएको थियो।

सो म्याद आज सकिएपछि स्काउटले आफ्नो जग्गामा निर्माण भएका सम्पूर्ण भवन र सामग्री जफत गर्ने निर्णय गर्दै काठमाडौं महानगरपालिकाको सहयोगमा संरचना भत्काएको हो। स्काउटले भाडा चुक्ता नभएमा आवश्यक रकम खड्काको जायजेथा मार्फत असुल गर्ने चेतावनी समेत दिएको छ।

नेपाल स्काउटले काठमाडौँको लैनचौरस्थित आफ्नो ३ रोपनी जग्गा भोगचलन गरिरहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई बक्यौता रकम तिरी जग्गा खाली गर्न ७ दिने अल्टिमेटम दिएको थियो। उक्त कम्पनी कांग्रेस नेता दीपक खड्काको हो ।