काठमाडौं, ३० कात्तिक । मेक्सिकोमा उरुआपानका मेयर कार्लोस मान्जोको हत्या भएपछि मेक्सिकोमा सुरु भएको जेनजी शैलीको प्रदर्शन देशभर फैलिएको छ ।
नोभेम्बरको सुरुमा अपराध विरोधी छवि बनाएका मेयरको सार्वजनिक रूपमा भएको हत्यापछि बढ्दो हिंसाको निन्दा गर्दै हजारौं मानिसहरू प्रदर्शनमा उत्रिएका हुन् ।
शनिबार मेक्सिकोभर ‘जेन–जी’ को ब्यानरमा प्रदर्शन भएको छ । समाचार संस्था रोयटर्सका अनुसार, मेक्सिको सिटीमा मुख ढाकेका प्रदर्शनकारीहरूको एउटा सानो समूहले राष्ट्रपति क्लाउडिया शेनबाम बस्ने नेशनल प्यालेस वरिपरिका बारहरू भत्काए । यसक्रममा भिड नियन्त्रण गर्न अश्रुग्यास प्रयोग गर्ने दङ्गा नियन्त्रण गर्ने प्रहरीसँग प्रदर्शनकारीहरूको झडप पनि भएको छ ।
मेक्सिको सिटीका सार्वजनिक सुरक्षा सचिव पाब्लो भाज्क्वेजले एक प्रेस सम्मेलनमा १०० प्रहरी अधिकारी घाइते भएका जानकारी दिए । उनका अनुसार, घाइतेमध्ये ४० जनालाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
भाज्क्वेजले स्थानीय मिडिया आउटलेट मिलेनियोलाई २० जना नागरिक पनि घाइते भएको जानकारी दिए । सार्वजनिक सुरक्षा सचिवले २० जनालाई पक्राउ गरिएको र अन्य २० जनालाई ‘प्रशासनिक अपराधका लागि सुम्पिएको’ पनि बताए ।
मेक्सिकोका विभिन्न शहरहरूमा पनि प्रदर्शनहरू पनि भएका छन् । पश्चिमी राज्य मिचोआकानमा नोभेम्बर १ मा सार्वजनिक ‘डे अफ द डेड’ कार्यक्रममा गोली हानी हत्या गरिएका उरुआपानका मेयर कार्लोस मान्जोको हत्यालाई लिएर आक्रोश फैलिएको छ ।
मेक्सिको सिटीका केही प्रदर्शनकारीहरूले शेनबामको पार्टीलाई निशाना बनाएका छन् । उनीहरूले ‘मोरेना आउट’ भन्दै नारा लगाए । केहीले अपराध र हिंसा रोक्नका लागि बलियो सरकारी प्रयासको माग गर्दै ‘कार्लोस मरेनन्, सरकारले मा¥यो’ भन्दै नाराबाजी गरे ।
विरोध प्रदर्शनका लागि आह्वान गर्ने जेनजी मेक्सिको नामक समूहले सामाजिक सञ्जालमा प्रसारित एउटा ‘घोषणापत्र’ मा भनेको छ – यो गैर–दलीय हो र यसले हिंसा, भ्रष्टाचार तथा शक्तिको दुरुपयोगबाट दिक्क भएका मेक्सिकोका युवाहरूको प्रतिनिधित्व गर्दछ ।
शेनबामको सरकारले शनिबारको देशव्यापी प्रदर्शन पछाडिको मनसायमाथि प्रश्न उठाएको छ । सरकारले उनीहरू ठूलो मात्रामा दक्षिणपन्थी राजनीतिक विरोधीहरूद्वारा आयोजित गरिएको र सामाजिक सञ्जालमा बटहरूद्वारा प्रचार गरिएको आरोप पनि लगाएको छ ।


