मुम्बई । बलिउड फिल्म उद्योगसँग सम्बन्धित एउटा ठुलो डेटा लिक भएको समाचार प्रकाशमा आएको छ । भारतको सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशन (सीबीएफसी) को अनलाइन पोर्टलबाट ५०० भन्दा बढी फिल्मसँग सम्बन्धित दस्तावेज लिक भएको हो ।
फिल्मका पटकथादेखि लिएर सर्टिफिकेशनसँग सम्बन्धित तथ्याङ्क र सम्झौता लगायतका आवश्यक दस्तावेज चुहावट भएको हो । सीबीएफसीको ‘ई–सिनेप्रमाण’ पोर्टलमार्फत फिल्मको सर्टिफिकेट प्रदान गर्ने प्रक्रिया पूरा गरिन्छ ।
यही पोर्टलमा उपलब्ध केही दस्तावेजसम्म पहुँच बनाएर इन्टरनेट अर्काइभमा डाउनलोडका लागि उपलब्ध गराएको घटना प्रकाशमा आएको हो । यस प्रकरणमा कसरी डेटा लिक भयो र कति जानकारी प्रभावित भयो भन्ने प्रस्ट भइसकेको छैन ।
यो डेटामा फिल्मका पटकथामात्र नभएर अन्य दस्तावेज पनि सामेल रहेको बताइएको छ । यसमा सीबीएफसीको निर्देशन र फिल्मसँग सम्बन्धित कारोबार सम्झौता पनि सामेल छ । केही दस्तावेजमा वितरण सम्बन्धी सम्झौता र प्रमाणपत्रको शुल्क लगायतका जानकारीसमेत रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
यस्तो जानकारी निर्माता र वितरकका लागि निकै महत्त्वपूर्ण मानिन्छ । यस्तो जानकारी सार्वजनिक हुँदा बिजनेस डिल र छलफलमा असर गर्ने बताइएको छ । डेटा लिक प्रकरणमा सीबीएफसीले छानबिन सुरु गरिसकेको छ । भारतीय साइबर सुरक्षा एजेन्सीलाई पनि यसबारे जानकारी गराएको बताइएको छ ।

