८ कार्तिक २०८३, आइतबार 11:53 am
विश्व

म्यानमामा एक्सप्रेस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते

म्यानमाको मन्डाले क्षेत्रमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

म्यानमाको अग्नि सेवा विभागका अनुसार ब्रेक फेल भएको एक्सप्रेस बस विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएपछि सडकबाट करिब ५० फिट गहिरो खोल्सामा खसेको थियो ।

विभागका अनुसार स्थानीय समयअनुसार शनिबार साँझ करिब ६ः०५ बजे पिन ओ ल्विन–मन्डाले सडक खण्डको ओरालोमा दुर्घटना भएको हो । पिन ओ ल्विनबाट मन्डालेतर्फ गइरहेको बसको ब्रेक फेल भएपछि विपरीत दिशाबाट आएको भ्यानसँग ठोक्किएको थियो ।

ठक्करपछि बस सडक छेउको खोल्सामा खसेर पल्टिएको थियो । दुर्घटनालगत्तै स्थानीय अग्नि नियन्त्रक र उद्धारकर्मीलाई घटनास्थलमा परिचालन गरिएको विभागले जनाएको छ ।

दुर्घटनामा भ्यानका चालकको मृत्यु भएको छ । बसमा सवार २९ जनामध्ये पाँच जनाको ज्यान गएको र १२ जना घाइते भएको बताइएको छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।

उद्धार टोलीले दुर्घटनामा परेका तथा बेपत्ता भएका व्यक्तिहरूको खोजी र उद्धार कार्य जारी राखेको विभागले जनाएको छ ।