हेटौँडा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले विपद्को समयदेखि विकास निर्माणसम्म भारत एक विश्वसनीय साझेदार रहेको बताएका छन् । उनले नेपालको पूर्वाधार विकास, कनेक्टिभिटी र विपद् प्रतिरोध क्षमतामा भारतले निरन्तर सहयोग पुर्याएको बताए । बिहीबार हेटौँडामा आयोजित आपत्कालीन प्रयोगका लागि भारतले दिएको बेली ब्रिज हस्तान्तरण समारोहमा बोल्दै मन्त्री घिसिङले भारतको सहयोगमा निर्मित हुलाकी राजमार्गले तराई क्षेत्रमा यातायातको पहुँच विस्तार गरी लाखौँ नागरिकलाई सेवा र बजारसँग जोडेको बताए ।
उनले पूर्व–पश्चिम राजमार्ग र ऐतिहासिक त्रिभुवन राजपथ निर्माणमा भारतको योगदानले नेपालको राष्ट्रिय यातायात र व्यापारको मेरुदण्डलाई सुदृढ बनाएको बताए । भारतीय एक्जिम बैंकमार्फत विस्तारित उदार ऋण सुविधाहरू अन्तर्गत सञ्चालित सडक तथा पुल निर्माण परियोजनाहरूले क्षेत्रीय कनेक्टिभिटी बढाउन, दुर्गम क्षेत्रमा पहुँच सुधार गर्न र राष्ट्रिय यातायात सञ्जाललाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । ‘भारतले उपलब्ध गराएका परियोजनाहरूले आर्थिक वृद्धिलाई गति मात्र दिएका छैनन् । हाम्रा राष्ट्रहरूबिच जनस्तरको सम्बन्धलाई पनि गहिरो बनाएका छन्’ मन्त्री घिसिङले भने, ‘सीमापार रेल सञ्जाल, विशेषगरी जनकपुर– कुर्था– बिजलपुरा– बर्दिबास लाइन र जोगबनी–विराटनगर कोरिडोरको विस्तारलाई क्षेत्रीय एकीकरणको कोसेढुंगा हो ।’
विनाशकारी भूकम्पपछिको सङ्कटको घडीमा भारतले गरेको द्रुत र उदार सहयोगको स्मरण गर्दै मन्त्री घिसिङले सडक, पुल र सार्वजनिक सुविधाहरूको पुनर्निर्माणमा भारतको सहयोग नेपालको पुनः प्राप्तिका लागि महत्त्वपूर्ण रहेको बताए । यातायात पूर्वाधारबाहेक शिक्षा, स्वास्थ्य, ऊर्जा र क्षमता निर्माण जस्ता सामाजिक क्षेत्रमा भारतको सहयोगले देशभरि सकारात्मक प्रभाव पारेको उनले बताए । मन्त्री घिसिङले भविष्यमा हरित पूर्वाधार, जलवायु–उत्थानशील यातायात प्रणाली र डिजिटल कनेक्टिभिटीमा सहकार्य गर्ने अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले यस प्रयासले लामो समय देखिको भारत–नेपाल विकास सहयोगलाई प्रतिबिम्बित गरेको बताए । ‘नेपालले अहिले सामना गरिरहेको कठिन अवधिलाई पार गर्न भारत आवश्यक पर्ने कुनै पनि तरिका वा रूपमा सहयोग गर्न प्रतिबद्ध छ’ उनले भने– ‘बेली ब्रिज हस्तान्तरणलाई भारत सरकारको आवश्यकताको समयमा र जनताको विकास र समृद्धिको लागि नेपालको साथमा उभिने प्रतिबद्धताको प्रतिबिम्बको रूपमा रहने छ ।’


