मङ्सिर १२ गते । हङकङको उत्तरी जिल्लास्थित आठ भवन भएको एक विशाल आवासीय कम्प्लेक्समा लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ९४ पुगेको छ । बिबीसीका अनुसार शुक्रबार बिहानसम्ममा आगलागीमा परी ९४ जनाको मृत्यु भएको छ भने उद्धारकर्ताहरूले सयौं बेपत्ता व्यक्तिहरुको खोजी गरिरहेका छन् ।

बुधबार दिउँसो वाङ फुक कोर्टका ३१ तले आवासीय ब्लकहरूमा गरिएको मर्मतसम्भार कार्यका क्रममा बाँकी रहेको ज्वलनशील सामग्रीका कारण आगो तीव्र गतिमा फैलिएको बताइएको छ । प्रहरीले ‘गम्भीर लापरबाहीका साथ काम गरेको’ आरोपमा तीन जनालाई पक्राउ गरेको छ । घटनास्थल नजिकै फोम प्याकेजिङ फेला परेपछि उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।
एएफपी पत्रकारहरूले केही फ्ल्याटहरू अझै पनि जलेको देखे पनि आगोको तीव्रता घट्दै गएको थियो । बाँसको मचानमा लागेको आगोले ठुलो आवाज निकाल्दै धुवाँ र खरानी आकाशसम्म उडेका थिए । ६५ वर्षीय निवासी युएनले झ्यालहरू मर्मतका कारण बन्द भएकाले धेरै बासिन्दालाई आगो लागेको थाहा पाउन ढिलाइ भएको र छिमेकीहरूले फोन गरेर मात्र खाली गर्न आग्रह गरेको बताउनुभयो ।
हङकङ अग्निशमन विभागका निर्देशक एन्डी युङका अनुसार मृतकमध्ये ३७ वर्षीय एक अग्नि नियन्त्रक पनि छन् । उनी सहकर्मीहरूसँग सम्पर्क विच्छेद भएको केही समयमै गम्भीर रूपमा जलेको अवस्थामा भेटिएका थिए । सरकारी प्रवक्ताका अनुसार ५६ जना घाइतेको उपचार भइरहेको छ, जसमा केहीको अवस्था गम्भीर छ ।
सहरका नेता जोन लीले करिब २७९ जनासम्म बेपत्ता भएको प्रारम्भिक अनुमान रहेको बताउँदै नौ सयभन्दा बढी बासिन्दाले अस्थायी आश्रय लिएर बस्नुपरेको जानकारी दिनुभयो । तर राहतकर्मीहरूले रातभरै बेपत्ता सूची अद्यावधिक गरिरहेकाले वास्तविक सङ्ख्या पुष्टि हुन बाँकी रहेको बताइएको छ ।
फायर सर्भिसका उप निर्देशक डेरेक आर्मस्ट्रङ चानले ‘घटनास्थलको ताप अत्यन्तै उच्च भएकाले केही तलासम्म पुग्न कठिन भएको’ बताउँदै उद्धार प्रयास निरन्तर जारी राखिने जनाउनुभयो । हावा र खसेका भग्नावशेषका कारण आगो एक ब्लकबाट अर्कोमा फैलिएको सम्भावना पनि उहाँले उल्लेख गर्नुभयो ।


