१ जेष्ठ २०८३, शुक्रबार 1778886004
Banner

एनपीएलमा आज लुम्बिनी र काठमाडौं खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको एलिमिनेटरमा आज काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।

खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ। काठमाण्डु यस पटक सुरुवातदेखि भने अब्बल खेलिरहेको छ । उसले उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हरायो। तर त्यसपछिका २ खेलमा काठमाण्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ससँग पराजित भयो। पछिल्ला ४ खेलमा शानदार जित हासिल गरेर काठमाण्डु प्लेअफ पुग्यो। तर यस पटक पनि रनरेटकै कारण उसले एलिमिनेटर खेल्नु पर्यो।

यता गत संस्करण लुम्बिनीका लागि बिर्सनलायक रह्यो। १ मात्र खेल जित्दै पुछारमा रहेको लुम्बिनी यसपटक पनि संकटमा थियो। चितवन राइनोजलाई हराउँदै विजयी सुरुवात गरे पनि ३ खेलमा लगातारको हारले लुम्बिनीको प्लेअफ सम्भावना कठिन देखिएको थियो।

तर, उसले उत्कृष्ट पुनरागमन गर्दै शीर्ष चारभित्र स्थान बनायो। सुरुवातमा सन्तुलन गुमाउँदा केही परिवर्तन गरे पनि निरोशन डिक्वेला र सन्दीप जोरालाई मध्यक्रममा लैजाने निर्णय सही साबित भयो। लिग चरणका पछिल्ला खेलमा पाएको लय कायम राख्न सके लुम्बिनीले प्लेअफमा राम्रो नतिजा निकाल्न सक्ने आकलन गर्न सकिन्छ। काठमाण्डु र लुम्बिनीबीच अहिलेसम्म २ पटक भेट भएको छ। दुवैमा काठमाण्डुले नै जितेको छ। उसले गत संस्करणको लिग चरणमा १८ रन र यसपटक २२ रनले जितेको थियो।

जारी संस्करण काठमाण्डुले लिग चरणमा ५ जित र २ हार तथा लुम्बिनीले ४ जित र ३ हारको नतिजा हासिल गरेका थिए। आजको विजेताले दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्ने छ। दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनले हराउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो।