काठमाडौं : नेपाली कांग्रेस धादिङका सभापति एवं पूर्वमन्त्री रामनाथ अधिकारीले आउँदो प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकमा उनले २१ फागुनमा तय भएको निर्वाचनका लागि आफ्नो दाबी नरहने घोषणा गरेका हुन् ।
अधिकारी पूर्ववर्ती सरकारमा कृषि तथा पशुपन्छी विकासमन्त्री थिए । कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर–२ धादिङ नाम उल्लेख गरिएको फेसबुक पेजमा राखिएको भिडियोमा अधिकारीले भनेका छन्, ‘अनेक सन्दर्भ उठेका छन् । सन्दर्भलाई ध्यानमा राखेर यो उम्मेदवारीबाट बाहिरै रहने प्रण मैले गरेको छु ।’
उनले उम्मेदवारीका लागि आफ्नो दाबी नरहे पनि पार्टीलाई निर्वाचनमा जिताउने जिम्मेवारी भने रहेको बताएका छन् । ‘यति कुरा भनिरहँदा निर्वाचन जिताउने जिम्मेवारी पनि मसँग छ,’ अधिकारीले भनेका छन्, ‘मलाई राम्रो ढंगबाट जानकारी छ ।’ जिल्ला सभापति अधिकारीले अहिले आन्तरिक विवाद गर्ने समय नभएको जिकिर गर्दै बैठकमा सकेसम्म एक मात्र उम्मेदवारको नाम सिफारिस गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
‘सम्भव भएसम्म एक जनाको मात्रै सिफारिस गरौं । अहिले विवाद गर्ने समय होइन,’ अधिकारीले भनेका छन्, ‘आगामी दिनमा विद्रोही उम्मेदवार उठ्नेदेखि यावत कुरा नआओस् । त्यो परिस्थिति आउन दिन हुन्न ।


