काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो २५औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस ३० गते बुधबार साधारणसभा गर्ने निर्णय गरेको हो ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय यसअघि नै गरिसकेको छ । उक्त निर्णय साधारणसभामा औपचारिक रूपमा प्रस्तुत गरिनेछ ।
साधारणसभा पुस ३० गते बिहान ११ बजे काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा आयोजना हुनेछ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पारित गर्ने प्रस्ताव पेश गरिनेछ । साथै, सहायक कम्पनी कुमारी क्यापिटल लिमिटेड र केबीएल सेक्युरिटिज लिमिटेडको एकीकृत वित्तीय विवरण पनि अनुमोदनका लागि प्रस्तुत हुनेछ ।
त्यसैगरी, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि सभामा समावेश गरिएको छ ।
बैंकले साधारणसभा प्रयोजनका लागि पुस १८ गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ । पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरूले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।


