काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलन प्रक्रिया आजदेखि सुरु हुँदैछ । निर्वाचन आयोगले कार्यतालिका अनुसार सबै प्राविधिक तथा प्रशासनिक तयारी पूरा भएको जनाएको छ ।
आयोगका अनुसार आज (आइतबार) र भोलि (सोमबार) दर्ता भएका राजनीतिक दलहरूले मात्र समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची आयोगमा बुझाउन पाउनेछन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बन्दसूची पेसदेखि अन्तिम प्रकाशनसम्मको सम्पूर्ण प्रक्रिया समयसीमा भित्रै सम्पन्न गरिने स्पष्ट पारे ।
पेस गरिएका बन्द सूचीको पुस १५ देखि २० गतेसम्म छानबिन गरिनेछ । छानबिनका क्रममा कानुनअनुसार समावेशी मापदण्ड पूरा भए/नभएको, उम्मेदवारको योग्यता र सूचीको संरचना जाँच गरिने आयोगले जनाएको छ ।
छानबिनपछि पुस २१ देखि २७ गतेसम्म दलहरूलाई त्रुटि सच्याउने अवसर दिइनेछ । त्यसपछि पुस २८ गतेदेखि माघ ३ गतेसम्म पुनः परीक्षण गरी माघ ४ गते प्रारम्भिक बन्द सूची सार्वजनिक गरिनेछ । अन्ततः माघ २० गते समानुपातिकतर्फको अन्तिम बन्दसूची प्रकाशन गरिने आयोगको कार्यतालिका छ ।
यस निर्वाचनमा समानुपातिक प्रणालीमार्फत भाग लिन १०० वटा राजनीतिक दल दर्ता भएका छन् । ती दलहरूले ९३ वटा निर्वाचन चिह्न प्रयोग गर्दै प्रतिस्पर्धा गर्नेछन् । आयोगले दर्ता भएका दलहरूलाई मात्र बन्द सूची पेस गर्न पाउने व्यवस्था लागू गरेको जनाएको छ ।


