काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच पार्टी एकता भएको छ । सोमबार रञ्जिता श्रेष्ठ नेतृत्वको नाउपा र प्रचण्ड संयोजक रहेको नेकपाबीच पार्टी एकता भएको हो ।
उक्त सहमतिमा नेकपाका सहसंयोजक माधवकुमार नेपाल र संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

एकीकरणपछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने र चुनाव चिह्न तारा हुने सहमति भएको छ ।
यस्ता छन् सहमतिका बुँदाहरू :
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, भौगोलिक विविधतायुक्त, सहअस्तित्वात्मक, समावेशी, धर्मनिरपेक्ष, समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो। विविधतामा एकता नेपालको राष्ट्रिय विशेषता हो। नेपालको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, लोकतन्त्र, शान्ति र अग्रगमनका पक्षमा ऐतिहासिक विभिन्न कालखण्डमा भएका जनआन्दोलन, जनयुद्ध, थारू आन्दोलन, मधेस विद्रोहलगायतका विभिन्न समुदायगत आन्दोलनले प्राप्त गरेका उपलब्धिहरूको रक्षा र मजबुती गर्दै समावेशी, समानुपातिक, समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्नु आजको आवश्यकता हो। यस उद्देश्य प्राप्तिका लागि नेपालको कम्युनिष्ट तथा समाजवादी आन्दोलनका विभिन्न धारहरू एकताबद्ध भई बनेको नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण गर्ने निम्नानुसार सहमति भएको छः
१. विगतमा पार्टी र राज्यका विभिन्न निकायहरूमा जिम्मेवारी बहन गर्दै आए गरेका गलत र दुर्बल पक्षहरूको वस्तुगत समीक्षा गर्दै कमी कमजोरीहरू सच्याउने र सुशासन, समृद्धि र सामाजिक न्यायको माध्यमबाट समाजवादको दिशामा अगाडि बढ्ने।
२. मुलुकको सार्वभौमसत्ता, स्वाधीनता र अखण्डताको रक्षा गर्दै पहिचान र अधिकारसहितको सङ्घीय समाजवादी गणतन्त्र प्राप्तिको राजनीतिक लक्ष्य प्राप्तिका लागि सडक, सदन र सरकार तीनवटै क्षेत्रबाट संघर्षरत रहने।
३. समाजवादका लागि लोकतान्त्रिक मूल्य र मान्यता तथा सङ्घीय शासन प्रणाली, लोकतान्त्रिक मूल्य मान्यता, वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक विभेदको अन्त्य तथा समतामूलक, न्यायपूर्ण र विभेदरहित समाज निर्माण गर्ने कार्यको पहलकर्त्री र नेतृत्व गर्दै नेपाली विशेषताको समाजवादलाई पार्टीको कार्यक्रमको रूपमा अघि बढाउने र त्यसका आधारमा देशको सामाजिक–आर्थिक रूपान्तरणका लागि कटिबद्ध रहने।
४. पार्टीलाई सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्व तथा सहकार्यलाई आत्मसात् गर्दै जनवादी केन्द्रीयताको सहयोगात्मक पद्धतिअनुसार सञ्चालन गर्ने।
५. नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरणपश्चात् पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी र चुनाव चिन्ह तारा रहनेछ। दुबै पार्टीका संघ, प्रदेश र स्थानीय तहका सम्पूर्ण जनप्रतिनिधिहरू स्वतः नेपाली कम्युनिष्ट पार्टीका सदस्य हुनेछन्।
६. नागरिक उन्मुक्ति पार्टीका सांगठनिक संरचनामा रहेका केन्द्रीय समितिसहित मातहतका सम्पूर्ण समितिहरू र जनवर्गीय संगठनहरू आपसी सहमतिका आधारमा नेपाली कम्युनिष्ट पार्टीमा समायोजन गर्ने।
७. नेपालको वर्तमान संविधानका सकारात्मक पक्षहरूको रक्षा र सुदृढीकरण गर्दै शासकीय स्वरूप, निर्वाचन प्रणाली, सङ्घीय संरचनाको सबलीकरणलगायतका विषयमा नवयुग पुस्ताको समग्र भावनाको आधारमा राष्ट्रको सर्वोपरि हितमा संविधान संशोधन र आवश्यक परिमार्जन गर्ने पहल गर्ने।
८. राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपले पछाडि परेका वा पारिएका महिला, थारू, मधेसी, आदिवासी जनजाति, खस, दलित, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक समुदाय, विभिन्न वर्ग पिछडिएका क्षेत्रलगायतका सीमान्तीकृत वर्ग र समुदायहरूलाई राज्यका सबै अङ्ग, नीति निर्माणमा समानुपातिक समावेशीकरणको प्रत्याभूति गराउने।
९. देशका श्रमिक वर्ग र उत्पीडित समुदायहरूको एकता जोड्दै समाजवादी क्रान्तिका लागि राष्ट्रिय शक्ति निर्माणका लागि पहल गर्ने।
१०. टीकापुर घटनाका सम्बन्धमा कुनै पनि व्यक्तिलाई प्रतिशोधका आधारमा लगाइएका मुद्दा खारेज गर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने पहल गर्ने।
उपयुक्त नीति, सिद्धान्त र विचारमा सहमत सम्पूर्ण राजनीतिक पार्टी, शक्ति र व्यक्तिहरू नेपाली कम्युनिष्ट पार्टीमा एकताबद्ध हुन हामी हार्दिक अनुरोध गर्दछौं।


