काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तमु (गुरुङ) जातिको महान पर्व तमु ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमार्फत खड्काले तमु ल्होसारले तमु जातिको धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा सबैलाई प्रेरित गर्ने उल्लेख गरेका छन् । उनले ल्होसारलाई तमु समुदायको नयाँ वर्षका रूपमा मनाइने ऐतिहासिक र सांस्कृतिक पर्व भएको बताएका छन् ।
कार्यवाहक सभापति खड्काका अनुसार तमु ल्होसारले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना मजबुत बनाउँदै आएको छ । यस्तो पर्वले नेपालीबीच आपसी विश्वास र एकताको भावनालाई थप प्रगाढ बनाउने उनको भनाइ छ ।
शुभकामना सन्देशमा उनले तमु ल्होसारले सबै नेपालीलाई आर्थिक तथा सामाजिक रूपमा समृद्ध राष्ट्र निर्माणतर्फ अग्रसर हुन ऊर्जा प्रदान गरोस् भन्ने कामनासमेत व्यक्त गरेका छन् ।


