काठमाडौं । अनेरास्ववियुले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी नेपालमा सञ्चालनमा रहेका कलेजहरूसँगको सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
अखिल अध्यक्ष दीपक धामी नेतृत्वको टोलीले शिक्षामन्त्री महावीर पुनलाई भेटेर १५ बुँदे मागसहितको ज्ञापन पत्र पेश गरेको हो । ज्ञापनपत्रमा विदेशी कलेजहरूले नेपालको शिक्षा क्षेत्रलाई तहसनहस पारेको, विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको र प्रचलित मापदण्ड विपरीत सञ्चालन भइरहेको जिकिर गरिएको छ ।
द ब्रिटिश कलेजलगायतका अन्यायनमा परेका विद्यार्थीहरूसमेतको न्यायका लागि संगठनले सरकारको ध्यानाकर्षण गराएको धामीले बताए । १०+२ पछि ‘फाउन्डेसन कोर्स’ का नाममा विद्यार्थीमाथि थप समय र आर्थिक भार थपिएको भन्दै यसलाई तत्काल बन्द गर्न अखिलको माग छ ।
कम्तीमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य निःशुल्क छात्रवृत्ति दिनुपर्ने र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको नामावली कलेजको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने पनि माग गरिएको छ । संगठनका माग सम्बोधन नभए चरणबद्ध आन्दोलनको चेतावनी पनि अखिलले दिएको छ ।


