पुस १८ गते । बेनीमा महिलालाई आयआर्जनसँग जोड्नका लागि परम्परागत नौमती बाजाको तालिम दिन थालिएको छ । शिवालय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा वडाभित्रका महिला र आमा समूहका प्रतिनिधिलाई बाजा बजाउने तालिम दिन लागिएको हो । बुधबार सुरु भएको बाजा बजाउने तालिममा वडाभित्रका विभिन्न आमा र महिला समूहका प्रतिनिधिले सहभागिता जनाएका छन् । वडाभित्र नौमती बाजा बजाउने समूह नहुँदा विवाह, छेवर, व्रतबन्धलगायतका शुभकार्यमा बाजा बजाउन बाहिरबाट टोली ल्याउनुपर्ने बाध्यता हटाउन र महिलाको आयआर्जन बढाउनका लागि बाजा बजाउन सिकाउन थालिएको सिकाइ केन्द्रका अध्यक्ष भरतप्रसाद शर्माले बताउनुभयो ।

पुरानो सांस्कृतिक चिनारीका रूपमा रहेको नौमती बाजाको सिप संरक्षण तथा पुस्तान्तरण गर्दै आयआर्जनमा समेत टेवा पु¥याउने उद्देश्यले बाजा बजाउने तालिमले सहयोग पुग्ने वडाध्यक्ष अर्णबहादुर खड्का (भगवान) ले जानकारी दिनुभयो । ४५ दिन सञ्चालन हुने तालिममा चर्चित बाजावादक प्रकाश परियार र शतप्रसाद छिनालले व्यावहारिक अभ्यासमार्फत प्रशिक्षण दिनुहुने छ । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले महिलाले नौमती बाजाको सिप सिकेर व्यावसायिक रूपमा सक्रिय हुन सकेमा आयआर्जनमा सुधार हुने बताउनुभयो ।


