१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:42 am
समाचार

विद्यार्थी बोकेको बस मोटरसाइकलमा ठोकिँदा २ जनाको मृत्यु

सूचना प्रेस २०८२ पुस १८ शुक्रबार ००:००, १३:१६ बजे १ मिनेट पढाइ

गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा आज बिहान विद्यार्थी बोकेको बस मोटरसाइकलमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ। राम्चेबाट विद्यार्थी बोकेर वनभोजका लागि मदाने गाउँपालिकाअन्तर्गत पुर्कोटतर्फ जाँदै गरेको सिद्ध इङ्लिस बोर्डिङ स्कुलको लु प्र ०१–००ख०३५५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु९प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

ठक्करबाट मोटरसाइकलमा सवार मालिका गाउँपालिका-६ मौवाका ३६ वर्षीय वसन्त अर्याल र उनकी भाउजू ५६ वर्षीया मनकला अर्याल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए।

दुर्घटनामा चार जना घाइते भएका थिए। तीमध्ये दुई जनालाई गुल्मी अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनामा मृतक मनकलाका नाति ६ वर्षीय अनुभव गिरी र पैदल यात्री गाउँपालिका-६ राम्चेकी ४१ वर्षीया जमरपोखरा माध्यमिक विद्यालयकी शिक्षिका लिलावती अर्याल घाइते भएका छन्।

घाइतेमध्ये गिरीलाई थप उपचारका लागि पाल्पा ‘रिफर’ गरिएको छ भने शिक्षिका अर्यालको गुल्मी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।