पुस १९ गते। भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसबारे सरकारसँग कुनै सूचना नभएको बताउनुभएको छ। सरकारले उनीहरु जीवित रहेकोे तत्काल प्रमाण मागेको उहाँले बताउनुभयो। भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाड्रिनो लोपेजले सरकारले शनिबार बिहानै भएको अमेरिकी आक्रमणका मृतक र घाइतेको बारेमा जानकारी लिन काम गरिरहेको बताउनुभएको छ। उहाँले सर्वसाधारण बसोबास गर्ने आवासीय क्षेत्रमा आक्रमण भएको दावी गर्नुभयो। उहाँले भेनेजुएलाले विदेशी सेनाको उपस्थितिको विरोध गर्ने पनि बताउनुभएको छ।

यसका साथै भेनेजुएलाका रक्षामन्त्रीले देशभरि तत्काल सैन्य बल तैनाथ गर्ने घोषणा गर्नुभएको छ। स्पेनी भाषामा बोल्दै लोपेजले भेनेजुएलामाथि अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमणको सामना गर्न सर्वसाधारणलाई एकजुट हुन आह्वान गर्नुभएको छ। उहाँले भेनेजुएलाले सबै सशस्त्र सेना परिचालन गर्ने मदुरोको आदेशलाई पालना गरिरहेको बताउनुभयो।
“उनीहरूले हामीमाथि आक्रमण गरेका छन् तर उनीसँग हामी झुक्ने छैनौँ,” रक्षामन्त्री लोपेजले भन्नुभयो। प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणबाट ला कार्लोटा, शहरको मुटुमा रहेको सैन्य अखडा र मुख्य सैन्य अड्डा फुएर्ते तिउना पनि प्रभावित भएका छन्। दुवै ठाउँमा भएका विस्फोटको भिडियो पनि सार्वजनिक भएको छ। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई ट्रम्प प्रशासनले हप्तौँदेखि दबाब दिएपछि यो आक्रमण भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलाका राष्ट्रपतिमाथि लागुऔषध ओसारपसार र अमेरिकामा अपराध फैलाउने कार्यमा संलग्न रहेको आरोप लगाएका छन्।
अमेरिकी हवार्य हमलापछि भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले एक विज्ञप्ति जारी गर्दै आक्रमणको निन्दा गर्नुभएको थियो भने राष्ट्रिय आपतकाल घोषणा गर्नुभएको थियो। भेनेजुएलाका राष्ट्रपति मदुरोले अमेरिकी सेनाको आक्रमणपछि एक विज्ञप्ति जारी गर्दै काराकासमा भएको आक्रमणको उद्देश्य आफ्नो देशको स्रोतसाधन कब्जा गर्ने अमेरिकी रणनीति बताउनुभएको थियो। भेनेजुएलाको राजधानी काराकासका कैयौँ क्षेत्रमा एकैपटक विस्फोटको आवाज सुनिएको थियो। विस्फोट भएका क्षेत्रमा सैन्य अखडा पनि रहेका छन्। रासस/एएफपी


