काठमाडौं । राष्ट्रिय लिग फुटबल आजदेखि काठमाडौंमा शुरु हुँदैछ। प्रतियोगिताको उद्घाटनमा आज काँक्रेविहार यूथ क्लब र फ्रेन्ड्स क्लब खेल्नेछन्। आजै श्री भगवती र चर्च ब्वाइज क्लबबीच पनि खेल हुनेछ।
तीन वर्षसम्म शीर्ष श्रेणीको शहीद स्मारक ए डिभिजन लिग गर्न नसक्दा आलोचना खेपिरहेको अखिल नेपाल फुटबल संघ एन्फाले यस पटक राष्ट्रिय लिग गर्न लागेको हो। हिमालय शेर्पा क्लब बाहेक ए डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट कपका ४ टोलीबीच प्रतिस्पर्धा हुनेछ।

तर एन्फा र क्लबहरुको तयारी हेर्दा भने राष्ट्रिय लिग औपचारिकतामा मात्र सिमित हुने देखिएको छ । एन्फाले पर्याप्त प्रचार गर्न नसक्दा समर्थकमा यो लिगका विषयमा खासै चर्चा छैन। विभागीय क्लबहरु, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब र एपिएफसहित केहि क्लबले मात्र लामो समय तयारी गरिरहेका छन्।
सुरुमा ए डिभिजनका शीर्ष ६ टोली र एन्फा प्रेसिडेन्ट लिगका ४ टोली सहभागी हुने बताए पनि पछि ए डिभिजनका सबै क्लबलाई सहभागीताका लागि खुल्ला गरिएको थियो।
त्यसमा हिमालय शेर्पा बाहेक सबै टोलीले खेल्ने भएका छन्। प्रेसिडेन्ट लिगका सेमिफाइनलिष्ट बन्दै लालिगुराँस युवा क्लब, चित्लाङ एफसी, नव जनजागृति क्लब र काँक्रेविहार स्पोर्टस क्लब लिगका लागि छानिए।
सिंगल राउण्ड रोविनका आधारमा खेलाइने लिगमा कूल १३६ खेल हुनेछन्। राष्ट्रिय लिगको विजेताले नगद ५० लाख पुरस्कार पाउनेछ। त्यस्तै उपविजेताले २५ लाख र तेस्रो हुनेले १५ लाख पाउनेछन्।


