जनकपुर । गगन थापा सभापति चयन भएकोमा नेपाली कांग्रेस धनुषाले खुसीयाली मनाएको छ । शनिबार जनकपुरधामस्थित पार्टी कार्यालयमा नेता, कार्यकर्ताहरुले खुसीयाली मनाउँदै मिठाई पनि बाँडेका छन् । सो अवसरमा कांग्रेस जनकपुरधामका नगर सभापति एवम् जनकपुरधामका मेयर मनोजकुमार साहले निर्वाचन आयोगले विधि सम्मत रहेर गरेको निर्णय स्वागतयोग्य रहेको धारणा राखे । उनले कांग्रेस विभाजनका लागि विशेष अधिवेशन नभएको बताए । थापाको नेतृत्वले नीति र नियत सभा राखेर युवा पुस्तालाई अगाडि सार्ने हिसाबले काम गरेको नगर सभापति साहको भनाई छ ।
उनले धनुषा क्षेत्र नं. ३ बाट पहिला पनि एकल नाम विमलेन्द्र निधिको सिफारिस गरिएकोमा उनले गगन थापासँग टिकट लिएर चुनाव लड्न आए सम्पूर्ण धनुषाका कांग्रेसले सहयोग गर्ने बताए । उनले पार्टीका शीर्ष नेताहरुलाई अभिभावकको रुपमा राखेर संरक्षक सरह सम्मान दिने बताए । नगर सभापति साहले पार्टीमा सबै जनाको पदोन्नती हुनुपर्ने धारणा राखे । उनले कुनै पनि पदमा एकलौटी बसिरहन उचित नरहेको बताए । कांग्रेस संगठित भएर थप मजबुत हुनुपर्नेमा नगरसभापति साहले जोड दिए ।
त्यस्तै, नेपाली कांग्रेस धनुषाका उपसभापति गणश झाले चुनाव चिन्ह र झण्डाको विषयमा झगडा र विरोध नर्गन आग्रह गरे । उनले कांग्रेसका केही नेता कार्यकर्ताहरुमा तत्काल असन्तुष्टि भएपनि नियम सम्मत गरिएको निर्णयहरुलाई सबैले मान्नुपर्ने धारणा राखे । उनले एक वर्षभित्र फेरि अधिवेशन हुने जानकारी दिए । उनले देशमा अन्य पार्टीहरु प्रतिस्पर्धामा उत्रेको बेला नेपाली कांग्रेसले आफैभित्र मनमुटाव राख्न नहुने बताए । उनले सबैलाई निर्वाचन आयोगको निर्णय मानेर अब हुने प्रतिनिधिसभाको चुनावमा केन्द्रित हुन आग्रह गरे ।


