काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश हाल गम्भीर र असामान्य अवस्थाबाट गुज्रिरहेको बताएका छन्।
रुकुम पूर्वमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले अहिलेको परिस्थितिले राष्ट्रिय एकता बलियो बनाउने र राज्यलाई थप मजबुत बनाउने आवश्यकता औंल्याएको बताए।
उनले परिस्थितिले माग गर्यो भने राष्ट्र र जनताको हितका लागि नयाँ किसिमको आन्दोलन अगाडि बढाउनु पर्ने हुनसक्ने बताएका छन् । समाजवादी मूल्य, राष्ट्रवाद र देशप्रेमलाई केन्द्रमा राखेर नयाँ अभियान सुरु गर्नुपर्ने सम्भावनालाई अस्वीकार गर्न नसकिने उनको भनाइ छ ।
भदौ २४ मा देखिएका हिंसात्मक गतिविधिहरूको उदाहरण दिँदै प्रचण्डले ती घटनाका पछाडि आन्तरिक र बाह्य प्रतिक्रियावादी तत्वहरूको भूमिका अझै सक्रिय रहेको दाबी गरे। त्यस्ता गतिविधिको प्रतिरोध गर्न संगठित र वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको उनको भनाइ थियो।
राष्ट्रवादी शक्तिहरूलाई एउटै धारमा ल्याउने उद्देश्यले नै आफूले नेकपा निर्माणको पहल गरेको उनले स्पष्ट पारे। उनले देशको स्वाधीनता र नागरिकको आत्मनिर्णयको अधिकारमाथि प्रश्न उठाउने प्रयास भइरहेकामा चिन्ता व्यक्त गर्दै अब मुलुक चुनावी चरणतर्फ अघि बढिसकेको उल्लेख गरे।


